जनकपुरधाम, असोज १९ —
धनुषा र सिरहा जोड्ने कमला नदीको पुल निर्माण अन्तिम चरणमा पुगेको छ। हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधामले आगामी मङ्सिरदेखि पुल सञ्चालनमा ल्याउने गरी निर्माणलाई तीव्रता दिएको जनाएको छ।
कार्यालय प्रमुख कृष्णकुमार महतोका अनुसार पुलको १० नम्बर पिलर निर्माण सम्पन्न भइसकेको छ भने सुपर ढलान, फाउण्डेसन तथा तीनवटा पिलरको सबलीकरण र ढलानको काम अन्तिम चरणमा पुगेको छ।
विसं २०७८ असारमा उद्घाटनको तयारी भइरहेका बेला आएको बाढीले पुलको पिलर भाँचिएपछि पुल क्षतिग्रस्त भएको थियो। पुनःनिर्माणमा ढिलाइ हुँदा स्थानीयवासीले लामो समयदेखि डुङ्गामार्फत कमला नदी वारपार गर्दै आएका थिए।
पुलका दुवैतर्फ सडकमा माटो भर्ने कामसमेत सम्पन्न भएकाले बाँकी काम पूरा गरी मङ्सिरदेखि सञ्चालनमा ल्याउने तयारी भइरहेको कार्यालयले जनाएको छ।
पुल सञ्चालनमा आएपछि धनुषा र सिरहाबीचको आवागमन सहज हुनुका साथै हुलाकी राजमार्ग हुँदै मधेसका विभिन्न जिल्लाबीचको यातायात सम्पर्क थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।






