कांग्रेसको १५औँ महाधिवेशन : बाराबाट १४ जना केन्द्रीय नेतृत्वको दौडमा

काठमाडौँ, असोज २२ —

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि काठमाडौँको खुलामञ्चमा निर्वाचन प्रक्रिया सुरु हुँदैछ। महाधिवेशनमा बारा जिल्लाबाट विभिन्न पद तथा क्लस्टरमा गरी १४ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

बाराबाट उम्मेदवारी दिनेमा पूर्वमन्त्री, पूर्वसंविधानसभा सदस्यदेखि युवा नेतासम्म रहेका छन्। समावेशी उपसभापति पदमा पूर्वमन्त्री फरमुल्लाह मन्सुरले उम्मेदवारी दिएका छन् भने खुला केन्द्रीय सदस्य पदमा पूर्वसंविधानसभा सदस्य शोभाकर पराजुली र युवा नेता नवराज त्रिपाठी प्रतिस्पर्धामा छन्।

आदिवासी जनजाति महिला क्लस्टरतर्फ शोभा लामा, मधेशी केन्द्रीय सदस्यतर्फ कृष्ण वर्त सिंह र रविन्द्र पनुहरले उम्मेदवारी दिएका छन्। मधेशी महिला क्लस्टरतर्फ तारादेवी कानु तथा मधेश प्रदेश महिला कोटामा मेघा शाहीले उम्मेदवारी दर्ता गराएका छन्।

त्यस्तै, मधेश प्रदेश खुलातर्फ शम्भु बुढाथोकी र हरि थपलिया प्रतिस्पर्धामा छन्। युवा कोटाअन्तर्गत युवा महिलातर्फ ममता शर्मा र युवा खुलातर्फ राजीव चौधरीले उम्मेदवारी दिएका छन्।

पेशागत समूहबाट नेपाल प्रेस युनियनका सभापति शिव लम्साल तथा खस–आर्य महिला क्लस्टरतर्फ नारायणी रायमाझीले पनि उम्मेदवारी दिएका छन्।

बाराबाट विभिन्न पद र क्लस्टरमा भएको उम्मेदवारीले कांग्रेसको नयाँ केन्द्रीय नेतृत्व चयनमा जिल्लाको प्रतिनिधित्वलाई थप व्यापक बनाएको छ।