नारी शक्तिले गर्यो जीतपुरमा महिला पुनर्स्थापना केन्द्रको जग्गामा भुमि पुजन

  • एस.एस. पटेल, बारा ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा नारी शक्ति विकास मञ्चले सम्पन्न गरेको श्रीमद्भागवद सप्ताह ज्ञान महायज्ञमा जीतपुरका समाज सेवी परशुराम गिरिले दान दिएको ७ धुर जग्गामा आज भुमि पुजन गरिएको छ । नारी शक्ति विकास मञ्च महिला पुनर्स्थापन केन्द्र भवन निर्माणको लागि गिरिले महायज्ञमा जग्गा दान दिनुभएको थियो ।

समाज सेवी गिरिले दान दिएको जग्गा नारी शक्ति विकास मञ्च जीतपुरको नाममा नामसारी गरेसंगै नारी शक्तिले भुमि पुजन गरेको हो । जीतपुर स्थित जय लक्ष्मी हलको पछाडी गिरिले नारी शक्तिलाई महिला पुनर्स्थापन केन्द्र निर्माणको लागि ७ धुर जग्गा दान दिएका हुन ।

नारी शक्ति विकास मञ्च महिला पुनर्स्थापन केन्द्र भवन निर्माणको लागि जीतपुरमा महायज्ञको आयोजना गरिएको थियो । नारी शक्ति विकास मञ्चकी अध्यक्ष आशा दाहालको अनुसार जुन लक्ष्य स्वरूप महायज्ञ गरिएको थियो त्यो लक्ष्य सफल हुँदैछ । आज नारी शक्तिले लालपुर्जा सहित जग्गामा भुमिपुजन गरेको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष रामबाबु गुप्ताको हातबाट भुमि पुजन गराईएको थियो । भुमि पुजनमा जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष तथा लोसपाका नेता घनश्याम गिरि, जीतपुरसिमरा उ.म.न.पा वडा नम्बर ७ का वडा सदस्य दुर्गा रिजाल, ज्ञानी पास्वान, समाज सेवी अफ्ताव आलम लगायत नारी शक्ति विकास मञ्चको सदस्यहरूको उपस्थिति रहेको थियो ।