- एस.एस. पटेल, बारा ।
बाराको जीतपुरमा पहिलो पटक एक स्कुलले आधुनिक र व्यवस्थित विज्ञान प्रयोगशाला स्थापना गरेको छ । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुर स्थित रहको श्री फकिरा गिरि राजेश्वर गिरि माध्यमिक विद्यालयले विज्ञान प्रयोगशालाको स्थापना गरेको हो ।
सरस्वती पुजाको अवसरमा सो स्कुलले विज्ञान प्रयोगशाला सहित स्कुलको प्रांगणमा बनाईएको मञ्च (स्टेज) को पनि उद्घाटन गरेको थियो । विज्ञान प्रयोगशाला निर्माणको लागि नेपाल सरकारको शिक्षा मान्त्रालयले श्री फकिरा गिरि राजेश्वर गिरि माध्यमिक विद्यालयलाई छ लाख पचास हजार रूपैया दिएको थियो ।
विज्ञान प्रयोगशाला र मञ्चको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष रामबाबु गुप्ताले गर्नुभएको थियो । उहाँ सोही स्कुलका व्यवस्थापन समितिका अध्यक्ष समेत हुन् ।
उद्घाटन कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा सदस्यहरू, स्कुल व्यवस्थापन समितिका सदस्य, स्थानिय नेता, समाज सेवी, शिक्षक लगायत विद्यार्थीहरूको उपस्थित रहेको थियो ।





