सरकारले संसदमा एमसीसी टेबुल गर्ने भएपछि विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित ६ दलहरुले भोलि नेपाल बन्दको घोषणा गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी चितवन इन्चार्ज सन्देश पौडेलले भोलि नेपाल बन्दको घोषणा भएको जानकारी दिएका हुन् ।
उनले भने, ‘भोलि नेपाल बन्दको घोषणा भइसकेको छ । आन्तरिक सर्कुलर आइसकेको छ । यसको तयारीको लागि आज साँझ ६ बजे नारायणगढको लायन्सचोकमा मसाल जुलुस निस्कँदै छ ।’ विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित देशभक्त गणतान्त्रिक मोर्चा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेकपा क्रान्तिकारी माओवादी, नेकपा र नेकपा माओवादी केन्द्र समाजवादीले बन्दको संयुक्त घोषणा गरेका हुन् ।



