जीतपुरसिमराका २ जना सहित आइतबार वीरगञ्जका विभिन्न अस्पतालमा उपचाररत ९ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
विरगञ्जस्थित नारायणी अस्पताल, नारायणी वयोधा अस्पताल र वीरगञ्ज हेल्थ केयर हस्पिटलमा उपचाररत ४ महिलासहित ९ जनाको सङ्क्रमणबाट मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
मृत्यु हुनेमा बाराका ४ जना, पर्साका ३ जना र सर्लाहीका १ जना छन् । उनीहरु सबैमा गम्भीर किसिमको निमोनिया देखिएको चिकित्सकले बताएका छन् ।
बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ का ३३ वर्षीय पुरूष र वडा नम्वर ९ का ६० वर्षीय पुरूषको, सूवर्ण गाउँपालिका वडा नम्बर २ निवासी ६० वर्षीय पुरुषको, कलैया उपमहानगर २५को ३८ वर्षीय महिलाको मृत्यु भएको छ भने पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नम्बर १९ निवासी ४४ वर्षीय पुरुषको र वडा नम्बर १३ की ५० वर्षीय महिलाको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
सर्लाहीको फरावता निवासी ४७ वर्षीय महिलाको पनि आज बिहान मृत्यु भएको छ । उनलाई कोरोना पुष्टि भएपछि बैशाख २१ गते अस्पताल भर्ना गरिएको डा. दासले बताए । सोहि दिनदेखि उनलाई आइसियूमा राखेर उपचार गरिँदै थियो । उनको आज बिहान ५ बजेर ३० मिनटमा मृत्यु भएको डा. दासले बताए ।
यता नारायणी वयोधा अस्पतालमा उपचाररत वीरगञ्ज महानारपालिका वडा नम्बर १ निवासी ६४ वर्षीय पुरुषको मृत्यु भएको छ । त्यस्तै वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचाररत वीरगञ्ज महानगरपालिका वडा नम्बर १० निवासी ६८ वर्षीय महिलाको मृत्यु भएको थियो ।




