जीतपुरसिमरामा एमालेका वडाध्यक्षको उम्मेद्वारी खारेज

जीतपुरसिमरा उपमहानगरपालिकाको वडा अध्यक्षकोलागि उम्मेदवारी दर्ता गराएका एमालेको एक उम्मेदवारको उम्मेदवारी खारेज भएको छ । उपमहानगरपालिकाको वडा नं ९ मा नेकपा एमालेबाट वडाध्यक्ष पदका लागि उम्मेद्वारी दर्ता गराएका भूदेव चौधरीको मनोनयन दर्ता खारेज भएको हो ।

चौधरीको नाम समानुपातिक सूचीमा रहेको र त्यसबाट नाम नहटाइएकोले दोहोरो उम्मेद्वारी दिन नमिल्ने भन्दै मनोनयन खारेज भएको हो । जीतपुरसिमरा उपमहानगरपालिकाका मुख्य निर्वाचन अधिकृत टिकामणि न्यौपानेका अनुसार उहाँको नाम निर्वाचन आयोगको सिस्टमले लिँदै नलिएर रिजेक्ट गरेपछि चौधरीको नाम खारेज गर्नुपरेको हो ।

बाराका भूदेव चौधरीको नाम समानुपातिक सूचीको ६९ औँ क्रमसंख्यामा रहेको बताइएको छ । यता नेकपा एमालेका नगरअध्यक्ष एवं उपमेयरका उम्मेदवार भोला अधिकारीले पनि पार्टीले पठाएको नामावली सूचीमा सबै ठिक रहेको तर निर्वाचन आयोगको अभिलेखमा नाम रहेको हुनाले प्राविधिक त्रुटिका कारण त्यसो भएको बताउनुभयो ।

उहाँका अनुसार अन्य ठाउँमा पनि यस्तो समस्या आएकोले केन्द्रीय निर्वाचन कार्यलयमा आवश्यक पहल भैरहेको छ । उहाँले परिणाम सुखदआउन सक्ने सम्भावना रहेको बताउनुभयो ।