- एस.एस. पटेल, बारा ।
बारा जिल्लाको सिम्रौनगढबाट हतियार सहित २ जना भारतीय नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । जिल्लाको सिम्रौनगढ नगरपालिका वडा नम्बर ९ बसबरियादेखि कचोर्वा जाने सडकमा भारतीय मोटरसाइकलमा सवार २ जनालाई शंकाको आधारमा चेकजाँच गर्दा २ थान पेस्तोल फेला परेको हो ।
सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्ट सिम्रौनगढ र झरोखरको सयुँक्त टोलीले सबरियादेखि कचोर्वा जाने सडकमा बिआर ०१ सि १२१६१ नम्बरको भारतीय मोटरसाइकलमा सवार भारतको मोतिहारी जिल्ला कुस्वाहा लौखात पूर्वी चम्पारणका २३ वर्षीय पप्पु यादव र पूर्वी चम्पारणकै २२ वर्षीय अखिलेस प्रसाद सिंहलाई हतियार सहित पक्राउ गरेको हो ।
पक्राउ परेका दुईजनाले कम्मरमा लुकाएर ल्याएको १ थान चाइनिज पेस्तोल र सो मा लाग्ने २ राउण्ड गोली र १ थान म्यागेजिन, १ थान कटुवा पेस्तोल र २ थान लोड गरिएको गोली बरामद भएको सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेश ठाडा मगरले जानकारी दिए ।
उनका अनुसार मोटरसाइकलसहित पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढमा बुझाइएको छ ।




