- काठमाडौं,असार २२-
प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्री जर्नादन शर्मासँग राजीनामा माग गरेका छन् । स्रोतका अनुसार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसिरहेको मन्त्रीपरिषदको बैठकमा प्रधानमन्त्री देउवाले अर्थमन्त्री शर्मालाई राजीनामा दिन भनेका हुन् । सोमबार संसदमा सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सेटिङ गरेर बजेट ल्याएका अर्थमन्त्रीलाई नहटाएको भन्दै प्रधानमन्त्री देउवाको कडा आलोचना गरेपछि प्रधानमन्त्री देउवाले अर्थमन्त्री शर्माको राजीनामा मागेका हुन् ।
कर प्रशासनभन्दा बाहिरका व्यक्तिबाट आर्थिक ऐन बनाएको आरोप लागेका अर्थमन्त्री शर्माले सिसिटिभि फुटेज दिन अस्वीकार गरेपछि प्रतिपक्षी दलका साथै सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले समेत छानबिनमा सहयोग गर्न अर्थमन्त्रीले राजिनामा दिनु पर्ने बताएका थिए ।
अनाधिकृत व्यक्तिले बजेट बनाएको आरोप लागेपछि नेकपा एमालेले संसदीय छानबिन हुनु पर्ने माग गर्दै आएको थियो । अर्थमन्त्रालयले सिसिटिभि फुटेज नदिएपछि अनाधिकृत व्यक्तिबाट बजेट बनाएको आरोप पुष्टी हुने आधार भएको भन्दै अर्थमन्त्री र प्रधानमन्त्रीको चौतफी आलोचना भइरहेको छ ।




