- जानकारी नेपाल, डेस्क ।
सशस्त्र प्रहरीले बाराबाट लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । मकवानपुर जिल्लाको कैलाश गाउँपालिका ६ सानुलेख बस्ने अन्दाजी २९ वर्षीय राजकुमार रुम्बा तथा भारत बिहार राज्य मोतिहारी जिल्ला संग्रामपुर वडा नं ११ भरवलीया बस्ने श्यामलाल महतो पक्राउ परेका हुन् ।
हिजो शुक्रबार राति ९:५० बजे बारा जिल्लाको महागढीमाई नगरपालिका वडा नम्बर ५ तेलगाइको बाटो हुँदै दक्षिण भारततर्फ लैजाँदै गरेको बा५ख ८०७५ नम्बरको ट्रक रोकेर चेकजाँच गर्दा गाँजा फेला परेको थियो ।
ट्रकको माथिल्लो भागमा फल्स बटम बनाई लुकाएर लैजाँदै गरेको १० पोका गाँजा फेला परेपछि गाँजा, ट्रक, चालक रुम्बा र महतोलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनी प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडामगरले जानकारी दिए ।
विशेष सूचनाको आधारमा बरामद गरिएको गाँजा, ट्रक र दुवै जना मानिसलाई आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाईएको बाराका सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र थापाले बताए ।




