- ७ साउन, वीरगञ्ज ।
वीरगञ्जमा दुई दिनदेखि हराईरहेकी ४ वर्षीया बालिककाको शव फेला परेको छ । वीरगञ्ज-२ छपकैया घुसुकपुर बस्ने सिकन्दर अलीको छोरी सुहाना खातुनको शव फेला परेको हो । बिहान स्थानीयले बालिकाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
सुहाना साउन ५ गते बिहीबार अपरान्हदेखि नै हराएकी थिइन् । तर, अभिभावकले छोरी हराएको निवेदन साउन ६ गते शुक्रबार मात्रै प्रहरीकोमा दिएका थिए ।
वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विशाल मल्ल नेतृत्वको प्रहरी टोली घटनास्थल पुगेको छ । प्रहरी टोलीले शव जाँच मुचुल्का तयार गर्दैछ । त्यसपछि शव पोष्ट मार्टमका लागि नारायणी अस्पताल लगिने प्रहरीले जनाएको छ ।
बालिकाको हत्या भएको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको छ । घटनामा संलग्न भएको हुन सक्ने भन्दै प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । १४ वर्षीय बालक र अर्को एक जनालाई पक्राउ गरेको हो ।




