- सिमरा
बाराको जीतपुरसिमरा उपमहानगरपालिका १८ बडहर्वा स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडको मूख्य कार्यालयमा स्थानीयबासी र शेयर सदस्यले तालाबन्दी गरेका छन् । गत असार १९ गते राती १२ लाख ७३ हजार नौ सय १५ रुपैयाँ चोरी भएको भनिएको घटनाले बडहर्वास्थित सहकारी संस्थामा तनाबको वातावरण सिर्जना भएको छ ।
घटना भएको एक महिना पुग्नै लाग्दा पनि प्रहरीले घटनामा संलग्न दोषी पता लगाउन नसकेको तथा संस्थाका अध्यक्ष र कर्मचारीले नै घटनालाई ढाकछोप गर्न लागेको भन्दै स्थानीयबासी र संस्थाका शेयर सदस्यहरु आक्रोशित बनेका हुन् ।
आइतबार संस्थाका शेयर सदस्य तथा स्थानीयबासीले बडहर्वास्थित संस्थाको मूख्य कार्यालय घेराउ गर्दै कार्यालयमा तालाबन्दी समेत गरेका छन् ।
घटनाको अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय सिमराबाट बरिष्ठ प्रहरी नायब नीरिक्षक कलमबहादुर शाही स्वयं उपस्थित भएर स्थानीय जैतापुर प्रहरी चौकीमा बसी घटनाको अनुसन्धानको हालसम्मको प्रगती बारे जानकारी गराएपनि स्थानीयले प्रहरीको अनुसन्धानलाई संस्थाका कर्मचारी र सञ्चालकले प्रभावमा पारी घटना ढाकछोपको प्रयास गरेको आरोप लगाउँदै आइतबार साँझ संस्थाको मूख्य कार्यालयमा तालाबन्दी गरेका हुन् ।
घटनाका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको भएपनि स्थानीयले भने चोरीको उक्त घटना र सिसिटीभी फुटेज समेतलाई नाटकीय रहेको भन्दै कर्मचारी र सञ्चालक समितिको मिलेमतोमा घटना भएको आरोप लगाएका छन् । उनीहरुले घटना शंकास्पद रहेको भन्दै कर्मचारी र सञ्चालक माथीनै छानबीन हुनुपर्ने आवाज उठाएका छन् ।
घटनाका सम्बन्धमा जानकारी दिंदै सहकारीकी अध्यक्ष नयनकला खड्काले कर्मचारी समेत शंकाको घेरामा रहेको र प्रहीले अनुसन्धान गरिरहेको बताइन् । स्थानीयले भने जस्तो सजिलै चोर पता नलाग्ने अध्यक्ष खड्काको भनाई छ । Source: हेडलाईन खबरबाट



