जीतपुर र पथलैयाको १/१ जना सहित बारामा एकैदिन ३ जना कोरोना संक्रमितको मृत्यु

  • एस.एस. पटेल, बारा ।

बारामा एकैदिन तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लामा बिहिवार मात्र तीन जना कोरोना संक्रमितको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।

जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जितपुर का ७७ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यू भएको छ । जेठ १ गते विरामी भई विरगंज हेल्थकेयर अस्पालतमा उपचारको लागि भर्ना हुन आएका उनको कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो र हेल्थकेयर अस्पतालको आइसोलेशन वार्डमा राखी उपचारकै क्रममा उनको विहिवार विहान ४:४५ बजे मृत्यू भएको छ ।

यसैगरि जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैयाका ३५ वर्षीय पुरुषको पनि नारायणी बयोधा अस्पतालमा उपचारको क्रममा कोरोना संक्रमणबाट विहिवार विहान ३ बजे मृत्यू भएको छ । उनको वैशाख २३ गते कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । रिपोर्ट पोजेटिभ आएपछि बयोधा अस्पतालको आइसोलेशन वार्डमा राखी उपचार भईरहेको थियो।

यसैगरि कलैया उपमहानगरपालिका वडा नम्बर १ मोतिबागका ६० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यू भएको छ ।  जेठ २ गते उनलाई सास फेर्न समस्या आएपछि उपचारको लागि कलैया अस्पताल पुगेका थिए उनको कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि आइसोलेशन वार्डमा राखी उपचार भईरहेको थियो । उपचारको क्रममा उनको विहिवार अपरान्ह १२:१५ बजे मृत्यू भएको छ ।

बारामा दोश्रो चरणको कोरोना संक्रमणबाट २० महिला र ६१ पुरुष गरी ८१ जनाको मृत्यू भईसकेको छ । पहिलो चरणमा ७ महिला र २६ पुरुष गरि ३३ जनाको मृत्यू भएको थियो ।