बारा-पर्सामा धुम-धामका साथ श्री गणेश चतुर्थी सुरु

बारा , १५ भदौ ।

हिन्दु धर्मावलम्बीहरुले मनाउँने गणेश चतुर्थी तथा महिलाहरुको महान् पर्व तीजको शुभ अवसरमा बारा, पर्साको बिभिन्न स्थानमा धुमधामका साथ आज देखि ६ दिन सम्मका लागि श्री गणेश भगवानको भव्य पूजाको आयोजना गरिएको छ ।

बाराको जीतपुर, परवानीपुर, बिरगंजको छपकैंया, घरियर्वा पोखरी, माईस्थान, ड्राईपोर्टमा बिहान शोभा यात्रा निकालेर भव्य रुपमा गणेश चतुर्थी महोत्सवको आयोजना गरिएको हो । बिगतका ९ वर्षहरु झैं यस वर्ष पनि श्री सिद्धिविनायक पूजा समिति जीतपुर बाराको आयोजनामा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ स्थित गौशालाको फिल्डमा आज देखि ५ दिन सम्मका लागि गणेश भगवानको पुजा अर्चना सुरु गर्नुका साथै मेलाको पनि आयोजना गरिएको छ ।

पुजाको पहिलो दिन आज बिहान पूजा समितिका अध्यक्ष रबि साह कानुको अध्यक्षतामा पूजा स्थलबाट निकालिएको शोभा यात्रा हात्ती, घोडा र बाजागाजाका साथ उपमहानगरको जीतपुर स्थित मुख्य सड्क हुँदै पहाडिटोल, पाडाबाजार, केराढोका, टेंढारोड लगायतको बिभिन्न स्थानहरुको परिक्रमा गरि पुन: पूजा स्थलमा फर्किएको थियो । भने शोभा यात्रामा बिभिन्न राजनितिज्ञ लगायत स्थानीय समाजसेवी , स्कुल स्तरका छात्र–छात्राहरु, बिभिन्न क्लबका पदाधीकारीहरु सहिँत सयाैं श्रद्धालु भक्तजनहरुको सहभागिता रहेको थियो ।

शोभायात्राका क्रममा जीतपुरका बिभिन्न संघ संगठनहरुले शोभायात्रामा सहभागि भक्तजनहरुलाई जुस्, आईसक्रिम, सर्बत लगायतको खाद्य सामग्री बितरण गरेर फल्हारी गराएका थिए । पाँच लाखको अनुमानित लागतका भईरहेको सो पुजाका आचार्य पवनेश शास्त्रीका साथमा अन्य आचार्यहरुद्वारा मन्त्रको उच्चारण गर्दै पूजा गराई गणेश भगवानको प्रति मूर्तिको स्थापना गरि पुजाको शुभारम्भ भएको हो ।

यता बिश्व शान्तिको कामना गर्दै जीतपुरमा आयोजना गरिएको पूजाको मुख्य आकर्षणको रुपमा गणेश भगवानलाई भोग चढाइँने दुई सय ६१ किलोको लड्डु रहेको छ । सो अवसरमा प्रत्येक दिन हुँने सांस्कृतिक कार्यक्रम बिभिन्न स्थानका कलाकारहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत् गरिने आयोजक समितिका अध्यक्ष कानुले बताउँनु भयाे । यसैबिच श्री गणेश चतुर्थीको अवसरमा बिरगंजमा पनि बिभिन्न स्थानबाट हजारौंको संख्यामा निकालिएको शोभा यात्राले बिरगंज नगर परिक्रममा गरी पूजा स्थलमा फर्किएको थियो ।