सिट बाँडफाँडमा सहमति जुटेनः कार्यदले शीर्ष नेतालाई अधुरो प्रतिवेदन बुझाउँदै

काठमाडौं,भदौ २३-

सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीको लागि आफूलाई प्राप्त कार्यादेश आज टुङ्ग्याउने भएको छ। बैठकले चुनावी तालमेल र सिट बाँडफाँटका सम्बन्धमा हालसम्म भएका सहमति र असहमतिसहितको प्रतिवेदन आज बिहान बैठक बसेर शीर्ष नेतृत्वलाई बुझाउने सरकारका प्रवक्ता एवं कार्यदल सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

दलहरूलाई प्राप्त मतअनुसार र केही राजनीतिक विषयलाई समेत मध्यनजर गरी सबैलाई सम्मानजनक र न्याय हुने गरी सिट बाँडफाँटको खाका बनाइएको जनाइएको छ। कार्यदलको बैठक आज बिहान ९ बजे बस्ने र आफ्नो जिम्मेवारी टुङ्ग्याउने सहमति भएको कार्कीको भनाइ छ।

गठबन्धनमा आबद्ध दलहरुले आगामी आमनिर्वाचनमा चुनावी तालमेलको खाका बनाउन साउन २० गते ११ सदस्यीय कार्यदल गठन गरेका थिए। हरेक दिन जस्तो बैठक बसे पनि उनीहरुले सहमती जुटाउन सकेनन्। कांग्रेसले १ सय सिट भन्दा तल नलिने दाबी गर्दै आएको छ। माओवादी केन्द्रले ६० सिटमा दाबी गर्दा एकीकृत समाजवादीले ४०, जनता समाजवादी पार्टीले ३२ सिटमा दाबी गरिरहेको छ। त्यस्तै राष्ट्रिय जनमोर्चाले २ सिटमा दाबी गरिरहेको छ।

कार्यदलमा नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला संयोजक रहेका छन् त्यस्तै कार्यदलमा कांग्रेसबाट महामन्त्री गगनकुमार थापा र सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं पार्टीका नेता ज्ञानेन्द्रबहादुर कार्की, नेकपा माओवादी केन्द्रबाट महासचिव देव गुरुङ र उपमहासचिव वर्षमान पुन छन्। यसैगरी नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालबाट नेताहरु रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट नेताहरु हिमलाल पुरी र आनन्द शर्मा कार्यदल सदस्य छन्।