मधेस प्रदेशमा ११९ जनामा डेंगु संक्रमण पुष्टि

डेस्क ,२३ भदाै ।

मधेस प्रदेशमा ११९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मधेस प्रदेशका ८वटै जिल्लामा गत आर्थिक वर्षको साउनदेखि चालू आर्थिक वर्षको २२ भदौसम्म डेंगुबाट संक्रमित हुनेको संख्या ११९ पुगेको हो ।

डेंगुबाट सबैभन्दा बढी सर्लाहीमा ४२ जना संक्रमित भएका निर्देशनालयका निर्देशक विजय झाले बताए । उनका अनुसार बारामा २०, रौतहटमा १६, पर्सामा १२, सिरहामा ११, महोत्तरीमा ९, धनुषामा ५ र सप्तरीमा ४ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

गजेन्द्र नारायण सिंह अस्पताल राजविराज, प्रादेशिक अस्पताल जनकपुर, नेशनल मेडिकल कलेज पर्सा, प्रादेशिक अस्पताल कलैया, प्रादेशिक अस्पताल लहान, प्रादेशिक अस्पताल मलंगवा, प्रादेशिक अस्पताल जलेश्वरलगायतका अस्पतालमा उपचारको क्रममा संक्रमित फेला परेका हुन् ।

देशभर डेंगुका विरामी बढ्न थालेपछि निर्देशनालयले प्रदेशका अस्पतालमा उपचारका लागि आएका विरामीको निगरानी गरेको थियो । डेंगु संक्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने भाइरस संक्रमण हो । बालरोग विशेषज्ञ डा. विकास साह भन्छन्, ‘डेंगु संक्रमितलाई एकदम धेरै ज्वरो आउछ । शरीर तथा हातखुट्टा बेस्सरी दुख्न थाल्छन् । यो लक्षण भएका विरामीले डेंगुको चेकजाँच गर्नैपर्छ ।’

पहिलो लक्षणसँगै पेट दुख्ने, धेरै उल्टी हुने, अलिअलि रिँगटा लाग्ने, बेहोश जस्तै हुने वा चक्कर लागिरहने राख्ने भएमा डेंगुको दोस्रो लक्षण भएको हुनसक्छ । यसले शरीरमा रक्तचाप घटाउँदै लैजान्छ र अन्त्यमा मानिसको मृत्यु पनि हुन सक्ने डा. साहले बताए ।

‘मान्छेलाई डेंगु लाग्यो भनेमा डराउनु हुँदैन । यसले ज्यान नै लिनसक्ने सम्भावना निकै कम हुन्छ । तर, लक्षण देखिनासाथ यसको पहिचान गर्नैपर्छ । जति ढिलो पहिचान भयो त्यति खतरा बढ्दै जान्छ । त्यसैले लक्षण देखिनासाथ तत्काल स्वास्थ्य परीक्षण गर्न जरुरी छ,’ साहले भने ।