सल्यान,असोज १२-
सल्यानको कपुरकोटमा जीप दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । बाँकेको ढकेरीबाट सल्यानको कपुरकोटमा बिहे भोजमा सहभागी हुनेहरुलाई लिएर फर्केको रा १ ज ५६३ नम्बरको जीप गएराति कपुरकोट गाउँपालिका–३ मूलपानीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
दुर्घटनामा परी जिप चालक कपुरकोट–६ जलवाङ का २१ वर्षीय जितबहादुर बोहरा, सोही ठाउँका ३७ वर्षीय धर्मा ओली, ४० वर्षीय टोपबहादुर ओली, उनका ११ वर्षीय छोरा बसन्त ओली, ३० वर्षीय सुरेश खत्री, ७० वर्षीय खुमलाल ओली, ५५ वर्षकी कुमारी ओली र ३५ वर्षीय ललित ओलीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए ।
दुर्घटनामा परी एक जना घाइते भएका छन् । घाइते कपुरकोट–६ जलवाङकै ३५ वर्षीय तिलक ओली रहेका छन् । घाइते ओलीको प्रादेशिक अस्पताल तुल्सीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जिपमा ९ जना सवार रहेको र जिप अनियन्त्रित भर्ई सडकबाट करिब १५० मिटर तल खसेको प्रहरीको भनाइ छ ।



