काठमाडौँबाट एक जना मात्रै यात्रु लिएर विराटनगर पुग्यो बुद्धको जहाज

काठमाण्डौ, कात्तिक १६–

कहिलेकाँही यात्रुले जहाजको टिकट नपाए जस्तै कहिलेकाँही जहाजले पनि यात्रु पाउँदैनन् । तर सेड्युलमा बसेका जहाज यात्रु नपाए पनि उड्नुपर्ने बाध्यता रहन्छ । मंगलबार बुद्ध एयरको जहाजलाई पनि त्यस्तै भएको छ ।

बुद्ध एअरको ७२ सिटको जहाज मंगलबार एउटा मात्रै यात्रु लिएर काठमाण्डौबाट विराटनगर उडेको छ । मंगलबार बेलुका ८ बजे बुद्ध एअरको उडान नम्बर यू ४ ७१७ को जहाजमा एक व्यवसायी उद्धव पौडेल मात्रै थिए।

पौडेलले आफू जहाजमा एक्लै रहेको फोटो सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा निकै चर्चा भएको छ । उनले लेखेका छन्, ‘काठमाण्डौबाट विराटनगर सम्मको बेलुकी ८ बजेको बुद्ध एअरको उडानमा म एकल यात्रु । रोमाञ्चक अनुभव ।’

बुद्ध एअरका बजार निर्देशक रुपेश जोशीले चाडबाडको समयमा कहिलेकाहीँ यात्रु नै नभइकन रित्तो जहाज पनि उडाउनुपर्ने अवस्था रहेको बताए। अहिले काठमाण्डौबाट बाहिर जाने यात्रु नभएको र काठमाण्डौ फर्कने यात्रुको भने घुइँचो रहेको उहाँको भनाइ छ ।