दक्षिण एशियाकै पहिलो चुरियामाई सुरुङमार्ग साउन १४ गतेबाट पुन:निर्माण हुने

  • एस.एस. पटेल, बारा ।

बारा र मकवानपुर जिल्लालाई जोड्ने चुरियामाई सुरुङमार्ग पुनःनिर्माण हुने भएको । चुरियामाई सुरुङमार्ग पुन:निर्माणको जिम्मा माउण्टेन इन्फ्रा कम्पनीले पाएको छ ।

१ सय ४ वर्षअघि प्रधानमन्त्री चन्द्रशम्शेरको पालामा निर्माण गरिएको दुई जिल्ला जोड्ने चुरियामाई सुरुङमार्ग वर्षौ देखि बन्द छ । चुरियामाई सुरुङमार्ग नेपाली सेनाका कर्णेल इञ्जिनीयर डिल्लीजङ थापाको नेतृत्वमा निर्माण गरिएको थियो । विक्रसंवत १९७४ सालमा निर्माण भएको यो सुरूङमार्ग ५०० मिटर लामो थियो । हाल पहिरोले एकापट्टीको भाग पुरिएपछि यो मार्गको २८० मिटरमात्र बाँकी रहेको छ ।

करीब पाँच करोड रुपैयाको अधिकतम् सीमाभित्रमा सुरुङमार्गको निर्माण सम्पन्न गर्नसक्ने ठेकेदार कम्पनीलाई प्रस्ताव प्रस्तुत गर्न आह्वान गरिएकोमा सोकोलागि माउण्टेन इन्फ्रा कम्पनीको प्रस्ताव छनोट भएको बाग्मति प्रदेशको यातायात पूर्वाधार निर्देशनालयले जानकारी दिएको छ ।

यातायात पूर्वाधार निर्देशनालयका अनुसार सुरुङको पुनःनिर्माणको शिलान्यास यही साउन १४ गते मुख्यमन्त्री डोरमणि पौडेलले गर्नुहुने छ । यातायात प्रयोजनका लागि निर्माण भएको दक्षिण एशियाकै पहिलो चुरियामाई सुरुङमार्गले ऐतिहासिक महत्व छ ।

प्रदेश सरकारले उक्त सुरुङ मार्गको पुनःनिर्माण गरेर पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने योजना रहेकाे बताएकाे छ । त्यसै गरि सुरुङसँगै सुन्दर टोनी हेगन उद्यानलगायतको संरचना निर्माण गरिने प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले बताउनुभयो ।