काठमाडौं, जेठ २१-
ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले बृहत्तर (ग्रेटर) नेपालको नयाँ नक्सा सार्वजनिक गरेको छ । राजधानीमा आइतवार आयोजित पत्रकार भेलामा नयाँ नक्सा सार्वजनिक गर्दै मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले पूर्वमा ब्रम्हपुत्रदेखि पश्चिममा रावी नदीसम्मको भूभाग नेपालको आफ्नो जमिन भएको दावी गरे ।
‘ग्रेटर नेपालको इतिहासप्रति हामी किन गौरव गर्छाैँ भने हाम्रा वीर पुर्खाले हामीलाई गौरवशाली इतिहास छोडेर गएका थिए’, उनले भने, ‘पुर्खाले आर्जेको भूभाग हाम्रो हो ।’ अध्यक्ष नेपालले पुर्खाको त्यो गौरव खासगरी हाम्रा पुर्खाको वीरतासँग जोडिएको भन्दै तिनले देशको माटोको सुरक्षा र प्रतिरक्षामा बगाएको पवित्र रगतसँग जोडिएको उल्लेख गरे । त्यही गौरवको गाथालाई ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले विगत डेढ दशकदेखि ग्रेटर नेपालको नक्सामार्फत् जीवन्त राख्ने प्रयास गर्दै आएको उनले स्मरण गराए ।
माटोको मुद्दा हजार वर्ष पछिसम्म पनि जमिनमाथिको स्वामित्वको प्रश्न उठाउन सकिने अध्यक्ष नेपालको भनाइ छ । आइतबार जारी बिज्ञप्तिमा नेपालसँग सुगौली सन्धि गर्ने संयुक्त अधिराज्य ग्रेट ब्रिटेन उक्त सन्धि भएको १२९ वर्षपछि इण्डियन सबकन्टिनेन्ट छाडेर गएको पनि अहिले ७५ वर्ष पुगिसकेको उल्लेख छ । ‘ब्रिटेनले उपनिवेशमा राखेको नेपालको भूमिमा इन्डियाले पुनः उपनिवेश कायम गरेको पनि त्यति नै वर्ष पुगेको छ, तर नेपाल र इन्डियाबीच १९५० जुलाई ३१ मा भएको नेपाल–इन्डिया शान्ति तथा मैत्री सन्धिको धारा ८ अनुसार सुगौली सन्धि रद्द भई नेपालको सिमाना सुगौली सन्धिपूर्वकै अवस्थामा पुगिसकेको तथ्य दिनको घामजत्तिकै छर्लङ्ग छ’, बिज्ञप्तिमा भनिएको छ ।
ग्रेटर नेपालको नक्साको यो पाँचौँ संस्करण ऐतिहासिक तथ्य र अभिलेखमा आधारित रहेर तयार पारिएको अध्यक्ष नेपालले बताए । समुद्र गुप्तको अलाहबाद प्रशस्तिमा नेपालको पूर्वी सिमाना असम भएर बग्ने ब्रह्मपुत्र नदीको काखमा रहेको कामरूपसम्म भएको उल्लेख इन्डियाली इतिहासविद्हरूले गरेका छन् ।
ग्रेटर नेपालको पश्चिमतर्फको सिमाना रावी नदी हो भन्ने कुरा डेभिड अक्टरलोनी र बडा काजी अमरसिंह थापाबीच १८१५ मे १५ मा भएको एक सम्झौतामा उल्लेख भएको पाइन्छ । दक्षिणतर्फको सिमाना निर्क्यौल गर्न अझै खोज अनुसन्धान गर्नुपर्ने देखिन्छ । नयाँ नक्सा अनुसार पूरा नेपालको ३३४२५० वर्ग किलोमिटर थप क्षेत्रफल भएको ग्रेटर नेपालले स्पष्ट पारेको छ । यो क्षेत्रफलमा अहिले इन्डियन शासन छ ।
ग्रेटर नेपालको नयाँ नक्सा सार्वजनिक समारोहमा काठमाडौं महानगरपालिका वडा नं ११ का अध्यक्ष हिरालाल तण्डुकार लगायत विभिन्न जानकार व्यक्तित्वहरुले आआफ्नो धारणा राखेका थिए । Source: Narayani Online



