बारा, असार १२ गते ।
बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाको सार्वजनिक सम्पत्ति तोडफोड गर्नेलाई कारबाहीको माग गरिएको छ । उपमहानगरपालिकाको दशौँ नगरसभामा सार्वजनिक सम्पत्ति तोडफोड गर्ने जनप्रतिनिधिलाई कारबाही र क्षतिपूर्तीको माग गर्दै सचेत नागरिक समाजले उपमहानगरलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
मंगलबार भएको घट्ना उपमहानगरको लागि लजास्पद रहेको भन्दै बुधबार उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेलाई सचेत नागरिक समाजले ज्ञापनपत्र बुझाउँदै घटनामा संलग्न नगरसभा सदस्यहरूलाई कानुनी कारबाही र भौतिक सम्पत्ति तोडफोड गर्नेबाट क्षतिपूर्ति भराउन माग गरेको छ।
असार १० गते भएको दशौँ नगरसभाको तेस्रो बैठकमा राज्यको सम्पत्ति संरक्षण गर्ने जिम्मेवारी लिनुभएका जनप्रतिनिधिबाट प्रहरी प्रशासनको बाक्लो उपस्थितिमा भएको घटना खेदजनक र भत्सनायोग्य छ’, ज्ञापनपत्रमा भनिएको छ, ‘यस हर्कतलाई आम जनताले कुन रूपले लिने सोचनीय विषय छ, त्यसको हामी घोर निन्दा एवं भर्त्सना गर्दैछौं ।
ज्ञापनपत्र बुझ्दै उपमहानगरकी प्रमुख प्रशासकीय अधिकृत काफ्लले नगरसभा व्यवस्थापनमा केही कमजोरी भएकोले त्यस्ता कमीकमजोरी दोहोर्याउन नदिन अगामी दिनमा ध्यान दिने बताएकी छिन् । उनले सार्वजनिक सम्पत्तिको क्षतिपूर्तिको विषयमा कानुनी पक्रिया बुझेर अगाडि बढ्ने बताइन् ।




