बारामा सवारी दुर्घटना हुदा एकको मृत्यु, १० जना घाईते

  • एस.एस. पटेल, बारा ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ चुरियामाई नजिक आज बिहिबार बिहान सवारी दुर्घटना हुदा एकजनाको मृत्यु भएको छ भने  दशजना घाइते भएका छन् ।

देशको राजधानीबाट रौतहटको गौरका लागि छुटेको ना ६ ख ४६४१ नम्बरको बस चुरीयामाई मन्दिर नजिकै दुर्घटनामा परेको थियो । दुर्घटनामा सोही बसका चालक हेटौंडा कमाने निवासी ४९ बर्षीय धर्मरज रेग्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

तीब्र गतिमा रहेको बसको ब्रेक फेल हुदा बस दुर्घटनामा परेको हो । दुर्घटनामा बिपरित दिशाबाट आइरहेको प्रदेश ०३ ००१ प ४११ नम्बरको मोटरसाइकलमा समेत ठोकिएको थियो, मोटरसाइकलका चालकको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।

बारा प्रहरीका अनुसार दुर्घटनामा परी बाराको कोल्हवी ११ बस्ने २१ बर्षका सुरज चौधरी,सोही स्थानका २८ बर्षका राम प्रवेश राम, सोही स्थानकी ५७ बर्षीय देवकी पन्त, बिहारीलाल चौधरी, रौतहटको बिजयपुरका ३४ बर्षका गान्धी दास,कोल्हवीकै ३९ बर्षका बीरेन्द्रप्रसाद चौधरी र सोही ठाउँकै १९ र्बाका रोहण बहादुर अधिकारी घाइते भएका छन् ।

घाईते मध्ये बिहारीलाल चौधरीको थप उपचारका लागि चितवन पठाईएको भने बाकी सबै घाईतेको हेटौंडा अस्पतालमा उपचार भईरहेको प्रहरी प्रवक्ता मिश्रले जानकारी दिनुभयो ।