बारामा पहिलोपटक आमाको नामबाट नागरिकता वितरण

२९ माघ । जिल्ला प्रशासन कार्यालय बाराले पहिलोपटक आमाको नामबाट अङ्गीकृत नेपाली नागरिकता वितरण सुरु गरेको छ। जिल्ला प्रशासन कार्यालय बाराका अनुसार यो प्रक्रिया नेपाल नागरिकता ऐन, २०६३को दोस्रो संशोधन तथा नागरिकता नियमावली, २०६३को चौथो संशोधनअनुसार कार्यान्वयनमा ल्याइएको हो।

यसअन्तर्गत कलैया उपमहानगरपालिका वडा नं. ५ निवासी कान्ती देवी कुर्मीका छोरा सुरत राउत तथा वडा नं. ४ निवासी चन्द कुमारी क्षेत्रीका छोरा सागर सिंहलाई आमाको नामबाट अङ्गीकृत नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको प्रशासनले जनाएको छ।

नागरिकता ऐन संशोधनपछि आमाको नामबाट पनि नागरिकता प्राप्त गर्न सकिने स्पष्ट कानुनी व्यवस्था लागू भएसँगै बारामा पहिलोपटक यो प्रक्रिया अघि बढाइएको हो। सम्बन्धित व्यक्तिहरूले आमाको नागरिकता, वडा कार्यालयको सिफारिसलगायत आवश्यक कागजात र कानुनी प्रक्रिया पूरा गरेपछि प्रमाणपत्र वितरण गरिएको जानकारी दिइएको छ।

आमाको नामबाट नागरिकता वितरण सुरु भएसँगै नागरिकताको पहुँचबाट वञ्चित नागरिकहरूलाई सहजता मिल्ने अपेक्षा गरिएको छ।