बारा क्षेत्र नम्बर ४ मा को बलियो? कस्ले मार्ला बाजी?

एस.एस. पटेल, जीतपुर, माघ ९,

झापा, चितवन र काठमाडौँपछि अहिले सबैभन्दा बढी राजनीतिक चासोको केन्द्र बनेको छ बारा क्षेत्र नम्बर ४ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि यहाँ ३९ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। तीमध्ये १९ जना स्वतन्त्र र २० जना विभिन्न राजनीतिक दलका उम्मेदवार रहेका छन्।

उम्मेदवार संख्या धेरै भए पनि वास्तविक प्रतिस्पर्धा भने सीमित दलहरूबीच हुने देखिएको छ। नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय परिवर्तन पार्टी र आम जनता पार्टीका उम्मेदवारहरू मुख्य रूपमा चर्चामा छन्।

निर्वाचनमा एमालेबाट पूर्व सांसद कृष्ण श्रेष्ठ, कांग्रेसबाट श्याम बाबु गुप्ता, रास्वपाबाट पूर्व प्रदेश सांसद रहबर अंसारी, नेपाली कम्युनिस्ट पार्टीबाट अजय कुशवाहा, राष्ट्रिय परिवर्तन पार्टीबाट नेपाल प्रहरीका पूर्व एआईजी सर्वेन्द्र खनाल र आम जनता पार्टीबाट उमेश कुशवाहा उम्मेदवार छन्।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा यसै क्षेत्रबाट एमालेका उम्मेदवारलाई पराजित गर्दै कृष्ण कुमार श्रेष्ठ विजयी भएका थिए। त्यतिबेला उनी सात दलको गठबन्धनका साझा उम्मेदवार थिए भने हाल उनी एमालेमा प्रवेश गरिसकेका छन्। यस कारण यस निर्वाचनलाई धेरैले प्रतिष्ठाको लडाइँका रूपमा हेरेका छन्।

गत भदौ २३ र २४ गते भएको ‘जेन–जी आन्दोलन’ पछि परम्परागत दलप्रति जनताको विश्वास कमजोर बन्दै गएको स्थानीयको भनाइ छ। एमाले र कांग्रेसजस्ता पुराना दलप्रति असन्तुष्टि बढेको र मतदाताहरू विकल्पको खोजीमा रहेको देखिन्छ।

यही परिवेशमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई परिवर्तनको आशाका रूपमा हेरिएको छ। संगठनात्मक रूपमा नयाँ र कमजोर देखिए पनि पार्टी सभापति रवि लामिछाने र ‘बालेन शैली’को राजनीतिले रास्वपाप्रति आकर्षण बढाएको छ। धेरै मतदाताहरू “एकपटक अवसर दिनुपर्छ” भन्ने मानसिकतामा रहेको स्थानीयको बुझाइ छ।

यता, आधा दर्जनभन्दा बढी पुराना वामपन्थी दलहरू एकजुट भएर नेपाली कम्युनिस्ट पार्टीको नाममा नयाँ पहिचानसहित चुनावी मैदानमा उत्रिनुले पनि चासो थपेको छ।

स्थानीय स्तरमा गरिएको बुझाइ अनुसार एमाले, कांग्रेस र रास्वपाबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ। संगठनात्मक शक्ति र अनुभवका हिसाबले एमाले र कांग्रेस बलिया मानिए पनि परिवर्तनको लहरले रास्वपालाई चुनौतीपूर्ण प्रतिस्पर्धी बनाएको छ। अन्य उम्मेदवारहरू चर्चामा आए पनि यी तीन दलको अगाडि टिक्न कठिन हुने आम मतदाताको आकलन छ।

अब प्रश्न उही छ-
बारा क्षेत्र नम्बर ४ मा कसले मार्ला बाजी?
यसको जवाफ भने फागुन २१ ले दिनेछ।