बाराको त्रिवेणी स्पिनिङ मिल्सको ६६ केभी सव–स्टेशनमा आगलागी, ट्रान्स्फर्मर क्वायल पूर्ण रूपमा जलेर नष्ट

बारा, फागुन ९ गते ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–९, छातापिपरा स्थित त्रिवेणी स्पिनिङ मिल्सको ६६ केभी विद्युत् सव–स्टेशनमा शुक्रबार राति आगलागी भएको छ। कम्पनीका अनुसार ६६ केभी ट्रान्स्फर्मरको क्वायल मर्मत गर्ने क्रममा सर्ट सर्किट भई आगलागी भएको हो।

राति करिब ९ः३० बजे सुरु भएको आगलागीबाट ट्रान्स्फर्मरको क्वायल पूर्ण रूपमा जलेर नष्ट भएको छ। जीतपुरसिमरा उपमहानगरपालिकाको वारुणयन्त्रको घण्टौंको प्रयासपछि राति १०ः४५ बजे आगो नियन्त्रणमा आएको मिलका महाप्रबन्धक नन्दकिशोर सिंहले जानकारी दिए।

करिब १,६०० भन्दा बढी कामदार कार्यरत उक्त उद्योग आगलागीका कारण झन्डै दुई घण्टा पूर्ण रूपमा बन्द भएको थियो। हाल भने ब्याकअप ट्रान्स्फर्मरमार्फत विद्युत् आपूर्ति सुचारु गरिएको कम्पनीले जनाएको छ।

आगलागीबाट नष्ट भएको क्वायल भारतको दिल्लीबाट आयात गरिएको उच्च क्षमताको उपकरण रहेको बताइएको छ। प्रारम्भिक अनुमानअनुसार क्षति कयौ करोड रुपैयाँ बराबरको हुन सक्ने जनाइएको भए पनि यकिन विवरण प्राविधिक मूल्याङ्कनपछि मात्र सार्वजनिक गरिने कम्पनीले जनाएको छ।

घटनापछि कम्पनीले प्राविधिक टोली र बीमा कम्पनीका प्रतिनिधिहरूलाई स्थलगत निरीक्षणका लागि बोलाइसकेको छ। प्राविधिक टोलीले आगलागीको कारण, क्षतिको परिमाण तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन अपनाउनुपर्ने सुरक्षात्मक उपायबारे अध्ययन गर्नेछ भने बीमा टोलीले वास्तविक क्षतिको मूल्याङ्कन गरी प्रतिवेदन तयार गर्नेछ। सो प्रतिवेदनपछि मात्र कम्पनीले प्राप्त गर्ने बीमा रकमको टुंगो लाग्ने जनाइएको छ।

कम्पनी स्रोतका अनुसार जलेर नष्ट भएको क्वायल पुनः भारतको दिल्लीबाट नै आयात गर्ने प्रक्रिया अघि बढाइनेछ। उत्पादनमा दीर्घकालीन असर नपरोस् भन्ने उद्देश्यले आवश्यक उपकरण छिटोभन्दा छिटो मगाउने तयारी भइरहेको बताइएको छ।

देशकै ठूलो औद्योगिक प्रतिष्ठानमध्ये एक मानिने यस उद्योगमा भएको अप्राकृतिक घटनाप्रति सरोकारवाला निकायले चासो देखाउनुपर्ने आवाज उठेको छ। उद्योग क्षेत्रका जानकारहरूले यस्तो विपद्जन्य अवस्थामा नेपाल सरकार, सम्बन्धित निकाय तथा बीमा कम्पनीहरूले छिटो क्षतिपूर्ति उपलब्ध गराउने वातावरण सिर्जना गर्न पहल गर्नुपर्ने बताएका छन्।