काठमाडौं, ११ चैत ।
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिएका छन्। शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले केसीलाई शपथ ग्रहण गराएका हुन्।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका केसी समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित भएका थिए। ७८ वर्षीय केसीले अब चैत १२ गते बिहीबार प्रतिनिधिसभाका २७४ सदस्यलाई शपथ ग्रहण गराउने कार्यक्रम छ।
सभामुख चयन नभएसम्म प्रतिनिधिसभाको बैठकको अध्यक्षता गर्ने जिम्मेवारी पनि केसीकै काँधमा रहनेछ। यसपटकको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ १६५ जना र समानुपातिकतर्फ ११० जना सांसद निर्वाचित भएका छन्।




