जीतपुर, चैत १३ गते –
रामनवमी पर्वको अवसरमा बाराको जीतपुरमा बिहीबार भव्य शोभायात्रा निकालिएको छ। हजारौं श्रद्धालु तथा सयौं सवारीसाधनसहित निकालिएको बृहत् शोभायात्राले बिहान ८ बजेदेखि दिउँसो १२ बजेसम्म जीतपुर क्षेत्रलाई धार्मिक उत्सवले भरिएको बनाएको थियो।
जीतपुरबाट सुरु भएको शोभायात्रा पथलैयासम्म पुगेर पुनः जीतपुरमै फर्किएको थियो। शोभायात्राका क्रममा विभिन्न धार्मिक झाँकी, बाजागाजा, भजन–कीर्तन तथा ‘जय श्रीराम’को उद्घोषले समग्र क्षेत्र नै गुन्जायमान बनेको थियो।
भगवान श्रीरामको जन्मोत्सवका रूपमा मनाइने रामनवमी हिन्दु धर्मावलम्बीहरूको महत्वपूर्ण पर्वमध्ये एक हो। यस अवसरमा धेरैजसो घरमा दीप प्रज्वलन गरी दीपावलीझैं उल्लासका साथ पर्व मनाउने परम्परा रहेको छ।
विश्व हिन्दु परिषद् नेपालले आयोजना गरेको उक्त कार्यक्रममा विभिन्न धार्मिक तथा सामाजिक संघसंस्थाहरूले सहयोग गरेका थिए। आयोजकका अनुसार बिहान शोभायात्रा सम्पन्न भएको छ भने आज साँझ जीतपुरमा विशेष आरती प्रदर्शनको समेत आयोजना गरिनेछ।
रामनवमीको अवसरमा बिहानैदेखि जीतपुरमा भक्तजनको उल्लेख्य उपस्थिति देखिएको थियो। आयोजकले साँझको धार्मिक कार्यक्रमलाई पनि भव्य रूपमा सम्पन्न गर्ने तयारी गरिएको जनाएको छ।




