काठमाडौं,चैत १४ –
पत्रकारहरुको अग्रणी संगठन प्रेस चौतारी नेपालले नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकमाथि नवगठित सरकारले गरेको धरपकडप्रति गम्भीर आपत्ति जनाएको छ ।
संगठनका अध्यक्ष गणेश पाण्डेले शनिबार एक विज्ञप्ति जारी गर्दै पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकमाथि नवगठित सरकारले गरेको धरपकडप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।
अध्यक्ष पाण्डेले विधिको शासन तथा कानुनी राज्यको सम्मान गर्दै पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई तत्काल रिहा गरी देशलाई मुठभेठमा जाने अवस्थाको अन्त्य गर्न पनि सरकारसँग माग गरे ।
‘२०८२ भदौ २३ गतेको प्रदर्शनका क्रममा भएको जनधनको क्षति सम्बन्धमा निष्पक्ष छानबिन गर्ने र भदौ २४ गते भएको प्रदर्शनीलाई विध्वंशात्मक बनाउन भएको घुसपैठ, राष्ट्रिय तथा व्यक्तिगत सम्पत्तिमाथिको आक्रमण लुटपाट तथा आगजनी, सञ्चारमाध्यम तथा सञ्चारकर्मीका व्यक्तिगत सम्पत्तिमाथि आक्रमण, तोडफोड र लुटपाटका घटनाहरुको निष्पक्ष छानबिन हुनुपर्ने पक्षमा प्रेस चौतारी नेपाल सदैब अडिग छ । अहिले पनि सञ्चारकर्मीमाथि देशभर धम्की र असुरक्षाको वातावरण छ । यस्तो अवस्थालाई नजरअन्दाज गरी गौरीबहादुर कार्की आयोगको प्रतिवेदन तयार भएको छ । अतः कानुनविद् र नागरिक समाजका अगुवाहरुको प्रतिक्रियालाई समेत वेवास्ता गर्दै कार्की आयोगको पूर्वाग्रही प्रतिवेदनलाई अध्ययनबिना प्रतिशोधात्मक रुपमा कारबाहीमा लैजाने मन्त्रिपरिषद्को निर्णय निषेधकारी, पूर्वाग्रही र प्रतिशोधपूर्ण छ ।’ विज्ञप्तिमा भनिएको छ ।
प्रेस चौतारीले राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, कानुनी राज्य र प्रेस स्वतन्त्रताको पक्षमा संगठन दृढ रहेको उल्लेख गर्दै जीवनभर लोकतन्त्रका लागि संघर्ष गरेका नेता ओली र लेखकमाथिको धरपकड ‘वचकना खेल’ मात्र भएको ठहर गरेको छ ।




