महोत्तरी, चैत २५-
महोत्तरीको जलेश्वर–बर्दिबास सडकखण्ड अन्तर्गत एकडारा गाउँपालिका–५ बखरी चोक नजिक मंगलबार दिउँसो दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा भएको भीषण दुर्घटनामा आगलागी भई तीन जनाको जलेर मृत्यु भएको छ। दुर्घटनामा तीन जना घाइते भएका छन्।
प्रहरीका अनुसार दुई मोटरसाइकल आपसमा ठोक्किएलगत्तै दुबै सवारीसाधनमा आगो लागेको थियो। आगोले मोटरसाइकलसँगै घाइतेहरूको शरीरसमेत जलेको बताइएको छ।
दुर्घटनामा आगोले जलेर तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। प्रारम्भिक जानकारीअनुसार मृतक तीनै जना एसईई परीक्षा दिएर फर्किरहेका परीक्षार्थी रहेको बताइएको छ।
घटनास्थलबाट एसईईको प्रवेशपत्र समेत फेला परेको प्रहरीले जनाएको छ, जसका आधारमा मृतकहरू परीक्षा दिएर फर्किंदै गरेका विद्यार्थी हुनसक्ने अनुमान गरिएको छ।
यस्तै, घटनास्थलबाट तीन जनालाई जीवितै उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ। हालसम्म मृतक र घाइतेको औपचारिक पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।




