बारामा बहिरा बालिकालाई पढाइसँगै सिलाई–कटाई तालिम

बारा, जेठ १५ गते ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा कान नसुन्ने बहिरा बालिकाहरूका लागि सिलाई–कटाई तालिम कार्यक्रमको उद्घाटन गरिएको छ ।

नेपाल अपाङ सेवा संघको आयोजना तथा साथी नेपाल को आर्थिक सहयोगमा सञ्चालन हुन लागेको उक्त ६ महिने तालिममा १२ जना बहिरा बालिकाको सहभागिता रहने जनाइएको छ ।

कार्यक्रमका प्रमुख अतिथि जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला प्रसाद अधिकारीले सीपमूलक शिक्षाले अपाङता भएका बालबालिकाको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

कार्यक्रमको अध्यक्षता संघको अध्यक्ष शोभा लामाले गर्नुभएको थियो भने विशिष्ट अतिथिका रूपमा साथी नेपालको अध्यक्ष सरिता सापकोटाको उपस्थिति रहेको थियो ।

त्यस्तै कार्यक्रममा सिलाई–कटाई प्रशिक्षक उर्मिला कुमारी सापकोटा लगायतको सहभागिता रहेको थियो । संघका अनुसार विद्यार्थीहरूलाई पढाइसँगै व्यवहारिक सीप प्रदान गरी आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो ।