बाराको त्रिवेणी स्पेनिङ मिल्समा भीषण आगलागी, १८० टन कपाससहित करोडौँको क्षति

जीतपुरसिमरा उपमहानगरपालिका–९ छातापिपरास्थित त्रिवेणी स्पेनिङ मिल्स उद्योग को कपास गोदाममा शुक्रबार भएको भीषण आगलागीबाट १८० टन कपाससहित करोडौँ रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।

उद्योग परिसरभित्र रहेको कपास भण्डारण गोदाममा शुक्रबार बिहान करिब १० बजे विद्युत सर्ट भई आगलागी सुरु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। आगो फैलिँदै गएपछि सुरक्षाकर्मी, दमकल र उद्योगका कर्मचारीहरूको संयुक्त प्रयासमा करिब दुई घण्टापछि दिउँसो १२ः३० बजे आगो नियन्त्रणमा आएको ईलाका प्रहरी कार्यालय सिमरा ले जनाएको छ।

आगलागीबाट गोदाममा भण्डारण गरिएको १८० टन कपास, मिक्सिङ ब्लेण्डर, मिक्सिङ ओपनर, कन्डेन्सर लगायतका औद्योगिक मेसिन तथा गोदाम भवनमा ठूलो क्षति पुगेको छ। घटनामा कुनै मानवीय क्षति भने भएको छैन।

आगो नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, अग्नि नियन्त्रक टोली तथा स्थानीय मजदुरसहित ठूलो संख्यामा जनशक्ति परिचालन गरिएको थियो। साथै विभिन्न स्थानीय तह र निकायका ११ वटा दमकल प्रयोग गरी आगो नियन्त्रणमा ल्याइएको थियो।

उद्योगका जनरल म्यानेजर नन्दकिशोर सिंह का अनुसार कपासलाई एमबीओ मेसिनमार्फत धागो उत्पादन प्रक्रियाका लागि पठाउने क्रममा विद्युत सर्ट भई आगलागी भएको हो। उनका अनुसार आगलागीबाट गोदाममा रहेको सम्पूर्ण कपास, उत्पादन प्रक्रियामा प्रयोग हुने मेसिनरी उपकरण तथा गोदाम भवनमा गम्भीर क्षति पुगेको छ। उद्योग प्रशासनले हाल क्षतिको विस्तृत विवरण संकलन तथा मूल्यांकन गर्ने कार्य जारी रहेको जनाएको छ।

घटनापछि नरेन्द्र कुँवर, विशाल सिलवाल, सरोज निरौला तथा दिलीप क्षेत्री लगायत सुरक्षा अधिकारीहरूले घटनास्थलको निरीक्षण गरेका थिए।

प्रहरीका अनुसार आगो नियन्त्रणमा आइसकेको छ भने पुनः कुनै जोखिम उत्पन्न नहोस् भनेर प्रभावित क्षेत्रमा निगरानी तथा पूर्ण रूपमा आगो निभाउने कार्य जारी रहेको छ। आगलागीबाट भएको कुल क्षतिको यकिन विवरण भने अनुसन्धान तथा मूल्यांकनपछि सार्वजनिक गरिने जनाइएको छ।