जीतपुरसिमरा उपमहानगरपालिका–२१ स्थित दुधौरा खोलाको झोलुङ्गे पुल नजिक रहेको काँसघारीमा एक वृद्ध मृत अवस्थामा फेला परेका छन्।
मृतक अमलेखगञ्ज निवासी करिब ८२ वर्षीय कृष्ण बल रहेको प्रहरीले जनाएको छ। स्थानीयवासीले बिहीबार बिहान शव देखेपछि इलाका प्रहरी कार्यालय अमलेखगञ्ज मा जानकारी गराएका थिए।
सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय सिमरा बाट खटिएको प्रहरी टोली घटनास्थल पुगेर आवश्यक कानुनी प्रक्रिया तथा मुचुल्का सम्पन्न गरेको थियो। त्यसपछि शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया पठाइएको प्रहरीले जनाएको छ।
पोस्टमार्टम सम्पन्न भएपछि शव मृतकका छोरा सूर्य लामा ले बुझेका छन्।
प्रहरीका अनुसार मृतक कृष्ण बल लामो समयदेखि उच्च रक्तचापको समस्याबाट पीडित थिए। साथै, उनी घटना हुनुअघि करिब दुई दिनदेखि परिवारको सम्पर्कमा नरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






