सुनसरी घटनापछि सुरक्षा संयन्त्रमा व्यापक हेरफेर, सीडीओसहित प्रहरी र सशस्त्रका प्रमुख फिर्ता

काठमाडौँ — सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि गृह मन्त्रालयले प्रशासन र सुरक्षा संयन्त्रमा व्यापक हेरफेर गरेको छ। मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिम्मेवार अधिकारीलाई फिर्ता बोलाएको हो।

गृह मन्त्रालयले सीडीओ घिमिरेलाई मन्त्रालयमा फिर्ता बोलाएर उहाँको स्थानमा संखुवासभाका प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्याललाई सुनसरी पठाएको छ।

यस्तै, कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय काठमाडौं तानिएको छ भने प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी कार्यालयको जिम्मेवारी दिइएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) केशव थेवेलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवामा सरुवा गरिएको छ। उहाँको स्थानमा विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ललाई सुनसरी पठाउने निर्णय गरिएको छ।

यस्तै, सशस्त्र प्रहरी बल नेपाल कप्तानगञ्जमा कार्यरत डीएसपी नन्दकिशोर महतोलाई पनि फिर्ता बोलाइएको छ। उहाँको स्थानमा सशस्त्र प्रहरी प्रधान कार्यालय, काठमाडौंमा कार्यरत डीएसपी मदन नाथलाई खटाइएको छ।

आइतबार राति देवानगञ्ज–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडपमा एक जनाको मृत्यु भएको थियो भने २४ जना घाइते भएका थिए। घाइतेमध्ये ९ जना सर्वसाधारण, १० जना नेपाल प्रहरी र ५ जना सशस्त्र प्रहरी रहेका छन्।

घटनाको छानबिनका लागि गृह मन्त्रालयले सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ। समितिलाई एक साताभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ।

घटनापछि थप अप्रिय अवस्था सिर्जना हुन नदिन जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगञ्ज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा सोमबार बिहान ७ बजेदेखि अर्को आदेश नभएसम्मका लागि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।