धनुषाको ढल्केबरमा निर्माण गर्ने भनिएको ट्रमा सेन्टरको योजना अन्यत्र सारिने चर्चा चलेपछि स्थानीयस्तरमा विरोध चर्किएको छ। विवाद बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले ढल्केबरमा ट्रमा सेन्टर निर्माण गर्ने सरकारी योजना यथावत् रहेको स्पष्ट पारेकी छन्।
गत मङ्गलबार प्रतिनिधिसभा बैठकमा मन्त्री मेहताले सिरहाको लहानमा ट्रमा सेन्टर निर्माण गरिने विषय उल्लेख गरेपछि ढल्केबरको योजना रद्द गरी लहानलाई प्राथमिकता दिइएको भन्दै स्थानीयवासी आन्दोलित भएका थिए।
विवादपछि बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै मन्त्री मेहताले ढल्केबरको योजना परिवर्तन नभएको बताएकी छन्। उनले पूर्व–पश्चिम राजमार्ग तथा मधेश प्रदेशका प्रमुख सडक सञ्जालसँग जोडिएको रणनीतिक स्थान भएकाले ढल्केबरमा ट्रमा सेन्टरको आवश्यकता अझै कायम रहेको उल्लेख गरेकी छन्।
मन्त्री मेहताका अनुसार संसदमा लहानको सन्दर्भ उठाउनुको अर्थ ढल्केबरको योजना हटाएर अर्को स्थानलाई प्राथमिकता दिनु नभई मधेश प्रदेशका आवश्यक स्थानमा चरणबद्ध रूपमा ट्रमा सेन्टर विस्तार गर्ने सरकारको दीर्घकालीन अवधारणा प्रस्तुत गर्नु मात्रै थियो।
यद्यपि मन्त्रीको अभिव्यक्तिप्रति स्थानीयको असन्तुष्टि भने अझै कायम छ। आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत धनुषाको मिथिला नगरपालिका–७ स्थित करिब चार बिघा ऐलानी जग्गामा ट्रमा सेन्टर निर्माणका लागि पहिलोपटक बजेट विनियोजन गरिएको थियो।
मिथिला नगरपालिकाका प्रमुख महेन्द्र महतोका अनुसार ट्रमा सेन्टर निर्माणका लागि आवश्यक जग्गा प्राप्तिसम्बन्धी कानुनी प्रक्रिया पूरा भइसकेको छ भने शिलान्यासको तयारीसमेत अन्तिम चरणमा पुगेको थियो। मन्त्रीको अभिव्यक्तिपछि योजना अन्योलमा परेको भन्दै स्थानीयमा चिन्ता बढेको उनको भनाइ छ।
यही विषयलाई लिएर बुधबार साँझ स्थानीयवासी तथा जनप्रतिनिधिहरूको सहभागितामा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन गरिएको थियो। प्रदर्शनकारीहरूले ढल्केबरका लागि स्वीकृत ट्रमा सेन्टर अन्यत्र सार्ने कुनै पनि प्रयास स्वीकार्य नहुने चेतावनी दिएका छन्।
यसैबीच मन्त्री मेहताले योजना यथावत् रहेको स्पष्ट पारे पनि स्थानीयले भने संसदमै औपचारिक रूपमा आफ्नो अभिव्यक्ति सच्याउनुपर्ने माग राख्दै आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने बताएका छन्।






