पर्सा राष्ट्रिय निकुञ्जमा सेना दिवस र महाशिवरात्री पर्वको अवसरमा पारेर साईक्लिङ कार्यक्रम आयोजना गरिएको छ । मंगलवार पर्सा राष्ट्रिय निकुञ्जको पर्यटन प्रवर्द्धन गर्ने उदेश्यसहित आधाभार–हलखोरिया–हात्तीसार जंगल फायरलाईन क्रसकन्ट्री साइक्लिङ कार्यक्रम आयोजना गरिएको हो ।
साईक्लिङ कार्यक्रममा करिब तीन सय साईकल यात्री सहभागी भएका थिए । देशका विभिन्न जिल्लाबाट साईक्लिस्टहरू पर्सा राष्ट्रिय निकुञ्ज आएका थिए । निकुञ्जको ३९ किलोमिटर दुरीको उक्त साईक्लिङ कार्यक्रमको उद्घाटन प्रदेश सभा सदस्य सिता गुरुङले गर्नुभएको थियो ।
निकुञ्जको मुख्य गेट आधाभारमा आयोजित कार्यक्रममा प्रदेश सभा सदस्य गुरुङले साईक्लिङ कार्यक्रमले निकुञ्जलाई चिनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । कार्यक्रममा वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय सरावगी, बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल, सिद्धिबक्स गणका गणपतिलगायतले मन्तब्य राखेका थिए ।
मधेस प्रदेश सरकार, स्थानिय सरकार, पर्सा राष्ट्रिय निकुञ्ज, सिद्धिबक्स गण, होटल तथा पर्यटन व्यवसायी संघलगायत विभिन्न संघसंस्थाको संयुक्त सहकार्यमा आयोजित कार्यक्रमको समापन अमलेखगंजमा गरिएको थियो ।
समापन कार्यक्रममा प्रदेशका उद्योग, पर्यटन तथा वन मन्त्री शत्रुघन महतोसहित प्रदेश सभा सदस्य सुन्दर विश्कर्मा, त्रिलोकी चौधरी, सिता गुरुङ, पर्यटन व्यवसायी युवराज लामा, नाटा प्रदेश २ का अध्यक्ष मोहन शर्मा लामिछानेलगायत उपस्थित थिए । कार्यक्रम निजगढ नगरपालिकाका प्रमुख सुरेश खनालको अध्यक्षतामा सम्पन्न भएको थियो । समापन कार्यक्रममा सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो ।





