माडीमा खुकुरी प्रहार गरी एक युवकको हत्या

चितवन, कात्तिक १२–

माडी नगरपालिका–४ घोसरीमा खुकुरी प्रहार गरी एक युवकको हत्या गरिएको छ । सँगै बसेर मदिरा सेवन गरेका साथीले खुकुरी प्रहार गरी अन्दाजी ३३ वर्षीय जीवन नेपालीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको माडी प्रहरीले जनाएको छ । घटनास्थल नजिकै रगतमा लतपतिएको खुकुरी प्रहरीले फेला पारेको छ ।

परियारको हत्या गरेको आरोपमा प्रहरीले उनकै साथी नवलपरासी बस्ने ३४ वर्षीय एक युवकलाई माडी–३ इनारबरुवाबाट पक्राउ गरेको छ । प्रहरीले पक्राउ गरिएका व्यक्तिको पहिचान खुलाएको छैन । अनुसन्धानकै क्रम चलेकाले हत्या आरोपित व्यक्तिको पहिचान नखुलाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । नेपालीको शुक्रबार राती करिब १० बजे हत्या भएको अनुमान गरिएको छ ।

घटनास्थलमा अत्यधिक रगत बगेको र भुईंमा घोप्टिएको अवस्थामा नेपालीको शव भेटिएपछि स्थानीयले प्रहरीलाई राती १२ बजे खबर गरेका थिए । सँगै बसेर मदिरा सेवन गरिरहेका बेला विवाद सिर्जना भएपछि परियारको हत्या भएको हुन सक्ने स्थानीयले बताएका छन् । नेपालीमाथि खुकुरी प्रहार गरेर भाग्ने क्रममा उनले घोसरी गाउँमै घरमा सुतिरहेकी एक महिलाको गहना समेत लुटपाट गरेका थिए ।