दुई जनाको मृत्युपछि बाजुरामा रोकिएको मतदान शान्तिपूर्ण जारी, २४ केन्द्रको मतदान रद्ध गर्न माग

बाजुरा, मंसिर १०-

बाजुराको बुढीनन्दा नगरपालिका वडा नम्बर ५ को मतदान केन्द्रमा मतदान भइरहेको छ । मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलका अनुसार बिहान ७ बजेदेखि यस क्षेत्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । कुल ९९९ मतदाता रहेको सो मतदान स्थलमा बिहान १० बजेसम्म २ सय बढी मत खसेको पौडेलले बताए ।

मंसिर ४ गते मतदानका दिन विवाद र झडपका कारण मतदान प्रक्रिया स्थगित भएको थियो । उक्त झडपका कारण यस क्षेत्रमा एक जनाको प्रहरीको गोली लागेर तथा एक जनाको कुटपिटबाट ज्यान गएको हो । हाल विवादग्रस्त मतदान केन्द्रका बारेमा आयोगको टोलीले शुक्रबारदेखि अध्ययन सुरु गरेको छ ।

यस्तै अन्य विभिन्न मतदान केन्द्रको मतदान प्रक्रिया स्थगित गर्नुपर्छ भनेर राजनीतिक दलहरुले निवेदन दिएको पौडेलले बताए । उनीहरुले जिल्लाका २४ भन्दा बढी मतदान केन्द्रको मतदान प्रक्रिया रद्ध गरिपाउँ भनेर निवेदन दिएका छन् ।