सिमरामा त्रियटिभ प्रथम जीतपुरसिमरा भेट्रान कपको आयोजना हुने

बारा, भाद्र १२ गते ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको सिमरामा त्रियटिभ प्रथम जीतपुरसिमरा उपमहानगरपालिका भेट्रान कप प्रतियोगिता हुने भएको छ । अगामी कार्तिक ६ गते देखि सुरु हुने प्रतियोगिता कार्तिक १० गते सम्म सञ्चालन हुनेछ ।

सिमराको होटेल विश्वासमा एक पत्रकार सम्मेलनको अयोजना गर्दै नेपालका विभिन्न सहरका भेट्रान क्लब सहभागितामा त्रियटिभ प्रथम जीतपुरसिमरा उपमहानगरपालिका भेट्रान कप हुने जानकारी गराएको हो । प्रतियोगितामा पहिलो हुने टिमले १ लाख र दोस्रो हुनेले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

नव जनजागृति भेट्रान क्लबको अयोजनामा हुने यस प्रतियोगितामा २० भेट्रान टिमहरु सहभागी रहने अयोजक क्लबका सचिव राम प्रसाद पाठकले बताउनु भयो । प्रतियोगितामा विभागिय टिमसहित काठमाडौं, पोखरा, धरान, चितवन, हेटौंडा, झापा, सर्लाही, नवलपरासी, कटारी, वीरगन्ज, कलैया, पथलैया, डुमरवाना, खैर्वा, निजगढ, बगही र आयोजकका दुई टिमले सहभागिता जनाउने छन् । यसैगरी भारतको पटनास्थित भेट्रान टिमले सहभागिता जनाउन इच्छुक देखाएको हुँदा समन्वय भईरहेको आयोजकले बताएको छ ।

बारा जिल्लाको खेलकुदको विकास र सिमराको पहिचान प्रवर्द्धन गर्ने उद्देश्यले जीतपुरसिमरा उपमहानगरपालिकामा त्रियटिभ प्रथम जीतपुरसिमरा भेट्रान कप प्रतियोगिता गर्न लागिएको नवजन जागृति भेट्रान क्लबका सचिव रामप्रसाद पाठकले पत्रकार सम्मेलनमा जानकारी दिए । सिमरा रंगशालामा हुने प्रतियोगितामा अनुमानित १३ लाख रुपैयाँ खर्च हुने आयोजकले जनायो । यश प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा त्रियटिभ वल्ड डिजिटल प्रा.ली रहेको छ भने मुख्य सहयोगिको संस्थाको रुपमा जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालय र नवजन जागृति युवा क्लब सिमरा रहेको छ ।

नव जनजागृति भेट्रान क्लबका सचिव राम प्रसाद पाठकको अध्यक्षतामा सम्पन्न भएको पत्रकार सम्मेलनको प्रमुख अतिथि प्रयोजक कम्पनी त्रियटिभ अल्ड डिजिटल प्रा.लिका अध्यक्ष कमल बाबू चौधरी रहनु भएको थियो ।

प्रमुख अतिथि त्रियटिभ अल्ड डिजिटल प्रा.लिका अध्यक्ष कमल बाबू चौधरीले यस प्रतियिोगितालाई आफ्नो तर्फबाट हुने सहयोग गर्ने प्रतिबद्धता गरेका थिए भने उनले यस खेलले ४० वर्ष उमेर पुगेका पुराना खेलाडीहरुलाई एउटा सम्मानजनक स्थान समेत दिने बताएका थिए ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठले भेट्रान फूटबललाई प्राथमिकतामा राखेर अघि बढ्न आवश्यक रहेको बताए । ४० वर्ष पूरा गरेका व्यक्तिले खेल्ने यस खेलले समाजको हरेक पक्षलाई फाइदा पुग्ने वडाध्यक्ष श्रेष्ठले बताएका छन् । स्थानीय सरकारले यसलाई प्राथमिकतामा राख्न जरुरी रहेको वडाध्यक्षको भनाई थियो ।

कार्यक्रममा मधेस प्रदेश फूटबल संघका कोषाध्यक्ष एवम् नव जनजागृति युवा क्लबका महासचिव शम्भुसिंह ठकुरीले खेलकुदको गतिविधिले सिमरा रंगशालालाई पूर्णता दिलाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । खेलकुदका गतिविधिलाई निरन्तरता दिन आवश्यक रहेको ठकुरीको भनाई थियो ।

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारी जीतपुरसिमरा १ का वडा सदस्य अमन लामा, जीतपुरसिमरा वडा नं. ७ का वडासदस्य नविन मैनाली, कराँते प्रशिक्षक सानु पटेल, सिमरा फाउण्डेशनका अध्यक्ष आरिफ हुसेन, हिरा बस्नेत, नव जनजागृति युवा क्लबका सदस्य निरोज पुडासैनी, क्लबका पदाधिकारी, सदस्यलगायत उपस्थित थिए ।