सागर राणा बने धनुषा प्रहरीको ‘पुलिस अफ दि मन्थ’, यसरी गरेका थिए उत्कृष्ट कार्यसम्पादन

धनुषा, असार ३१ गते ।

नेपाल प्रहरीको प्रहरी वरिष्ठ नायव निरीक्षक सागर शमशेर जबरा जिल्ला प्रहरी कार्यालय धनुषाको असार महिनाको ‘पुलिस अफ दि मन्थ’ घोषित भएका छन् । अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा कार्यरत सागर शमशेरले उत्कृष्ट कार्यसम्पादनमार्फत प्रहरी सङ्गठनको छवि उच्च राख्न महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषाले उनलाई ‘पुलिस अफ दि मन्थ’ घोषणा गरेको हो ।

धनुषाको ‘पुलिस अफ दि मन्थ’ घोषणा भएका सागर शमशेर यस अघि पनि विभन्न जिल्लामा कार्यरत हुदा पनि कयौ पटक विभिन्न गम्भीर अपराधका घटनाहरूको अनुसन्धानमा सक्रिय भूमिका निर्वाह गरेको भन्दै उत्कृष्ट प्रहरी घोषित भैसकेका छन् । जबराले आफुलाई नेपाल प्रहरी संगठनको एक सुक्ष्म अनुसंधानकर्ताको रुपमा पनि आफुलाई स्थापित गरेका छन् ।

धनुषा प्रहरीका प्रमुख, प्रहरी उपरीक्षक नरहरि रेग्मीका अनुसार, गत वर्ष चैत १७ गते धनुषाको लक्ष्मिनिया गाउँपालिका–५ बनिनियाँमा श्रीमती अञ्जली यादवलाई कुटपिट गरी हत्या गरेर आफ्नै घरमै शव गाडेको आशङ्कामा पक्राउ परेका हरिराम यादवलाई नियन्त्रणमा लिन सगरले महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

त्यसै गरि सागर शमशेर जबराले असार १८ गते जनकपुर–१५ मा वासुदेव साहमाथि चक्कु प्रहार गरी फरार रहेका बेचन महासेठ खजुरी रेल्वे स्टेसनबाटै पक्राउ ठूलो योगदान गरेका थिए । उनले अन्य विभिन्न ठगी, आपराधिक विश्वासघात, आपराधिक लाभ र विद्युतीय अपराधसम्बन्धी मुद्दाको अनुसन्धान गरि मुदामा फरार रहेकालाई पक्राउ गरि निकै उल्लेखनीय योगदान गरेका थिए ।

एसपी रेग्मीले सागर शमशेरको उच्च व्यावसायिक कुशलता र जिम्मेवारीप्रतिको लगनले प्रहरी सङ्गठनको छवि उज्ज्वल बनाउन र आम जनमानसमा प्रहरीप्रतिको विश्वास बढाउन महत्त्वपूर्ण योगदान पुर्‍याएको बताए । “निजको उत्कृष्ट कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह भएको छ,” रेग्मीले भने ।

जिल्ला प्रहरी कार्यालय धनुषाले सागर शमशेरको कार्यलाई उच्च मूल्याङ्कन गर्दै उनलाई ‘पुलिस अफ दि मन्थ’ घोषित गरेको हो । सम्मानले प्रहरी सङ्गठनभित्र उत्कृष्ट कार्य गर्नेहरूलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।