पुष २६, बारा
जीतपुरसिमरा उपमहानगरपालिका–२ स्थित राधाकृष्ण मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको १८औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ। सिमरास्थित वन समूहको सभाहलमा आयोजित सभाको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलले गर्नुभएको थियो।
सभामा समूहका अध्यक्ष सत्यबहादुर श्रेष्ठले वार्षिक प्रगति प्रतिवेदन तथा आगामी कार्ययोजना प्रस्तुत गर्दै वन, वातावरण, जैविक विविधता र वन्यजन्तु संरक्षणलाई प्राथमिकतामा राखिने जानकारी दिनुभयो। मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि मुसहर्नीमाईदेखि भिमेश्वर मध्यवर्ती सामुदायिक वनसम्म मेश तारबार जडानको काम सुरु भइसकेको र बाँकी क्षेत्रमा पनि निरन्तरता दिइने उहाँले बताउनुभयो।
अध्यक्ष श्रेष्ठका अनुसार उपभोक्ताको आर्थिक अवस्था सुधारका लागि पर्यापर्यटन प्रवर्द्धन गर्दै इको पार्क निर्माणमार्फत रोजगारी सिर्जना गर्ने योजना अघि बढाइएको छ। इको पार्कको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) प्राप्त भइसकेको र त्यसअनुसार निर्माण प्रक्रिया अगाडि बढाइने उहाँको भनाइ छ। साथै जिप सफारी सञ्चालनका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको र एक महिनाभित्र वाटर फाउन्डेसन सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिइयो।
कार्यक्रममा बोल्दै जनहित उपभोक्ता समिति सिमराका अध्यक्ष अमृतलाल श्रेष्ठ र पर्सा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत सन्तोष भगतले सामुदायिक वनले संरक्षणमा खेलेको भूमिकाको प्रशंसा गर्दै मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका कार्यक्रमहरू विधि र कानुनअनुसार सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो।
प्रमुख अतिथि नगरप्रमुख राजन पौडेलले संरक्षणका क्षेत्रमा काम भए पनि पर्यटन विकास अपेक्षित रूपमा अघि बढ्न नसकेको उल्लेख गर्दै सामुदायिक वन र निकुञ्जबीच सहकार्य गरी कम लगानीमा पर्यटनमुखी कार्यक्रम अघि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो।



