बारा । अस्ट्रेलियाको नर्थन टेरिटोरीमा आयोजना हुने ‘एनटी टप एन्ड टी–२०’ सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले १५ सदस्यीय नेपाली टोली घोषणा गरेको छ। क्यानले बाराका अनिल साहलाई कप्तानको जिम्मेवारी दिँदै टोली सार्वजनिक गरेको हो।
टोलीमा नियमित पहिलो रोजाइका खेलाडीमध्ये रोहित पौडेल, लेग स्पिनर सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीलाई भने यस भ्रमणमा विश्राम दिइएको छ।
अनिल साहको नेतृत्वमा नेपालले प्रतियोगिताको लिग चरणमा ६ खेल खेल्नेछ। अगस्ट २१ देखि ३० अर्थात् भदौ ५ देखि १४ गतेसम्म सञ्चालन हुने सिरिजमा नेपालले विभिन्न टोलीसँग प्रतिस्पर्धा गर्नेछ।
नेपाली टोली:
अनिल साह (कप्तान), कुशल भुर्तेल, कुशल मल्ल, लोकेश बम, तृतराज दास, मयन यादव, पवन सर्राफ, दीपक डुम्रे, राशिद खान, नारायण जोशी, आकाश चन्द, शाहब आलम, विपिन खत्री, युवराज खत्री र रिजन ढकाल।
नेपालको खेल तालिका :
अगस्ट २१: एनटी स्ट्राइकविरुद्ध
अगस्ट २२: बंगलादेश हाई–परफर्मेन्स टोलीविरुद्ध
अगस्ट २४: होबार्ट हुरिकेन्स एकेडेमीविरुद्ध
अगस्ट २६: एसीटी कोमेट्सविरुद्ध
अगस्ट २७: किङ्समेनविरुद्ध
अगस्ट २९: भिक्टोरियाविरुद्ध
सिरिज नेपाली टोलीका नयाँ तथा युवा खेलाडीका लागि अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धात्मक अनुभव हासिल गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।






