साउन २६ । बजारमा अण्डाको माग बढेपछि नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको समर्थन मूल्य वृद्धि गरेको छ। सङ्घले आजदेखि लागू हुने गरी विभिन्न आकारका अण्डाको नयाँ समर्थन मूल्य निर्धारण गरेको हो।
नयाँ मूल्यअनुसार एक्सएल अण्डाको मूल्य प्रतिक्रेट (३० वटा) रु ५६०, ठूलो अण्डा रु ५४५ र मिडियम अण्डा रु ५०० कायम गरिएको छ। यस्तै, सानो अण्डाको मूल्य रु ३ हजार प्रतिपेटी (७ क्रेट) निर्धारण गरिएको सङ्घले जनाएको छ।
सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार बर्डफ्लुको सङ्क्रमणपछि ठूलो सङ्ख्यामा कुखुरा मरेकाले अण्डाको उत्पादन घटेको छ। उत्पादनमा आएको कमी र बजारको माग बढेका कारण अण्डाको मूल्य बढाउनुपरेको उहाँको भनाइ छ।
फार्मबाट प्राप्त दरका आधारमा समर्थन मूल्य निर्धारण गरिएको भए पनि किसानले अझै उत्पादन लागतअनुसारको मूल्य पाउन नसकेको पोखरेलले बताउनुभयो। उहाँका अनुसार एउटा अण्डा उत्पादन गर्न औसत रु १९.१२ लागत लाग्छ। यस हिसाबले एक क्रेट अण्डाको लागत करिब रु ५७३.६० पर्न आउँछ।
बर्डफ्लुका कारण विगतमा ठूलो क्षति व्यहोर्नुपरेको र उत्पादन लागतअनुसारको मूल्य नपाउँदा पछिल्ला वर्षमा किसानहरू कुखुरापालन व्यवसायबाट पलायन हुन थालेको व्यवसायीहरूको भनाइ छ।
उत्पादन घट्नु, कुखुरामा विभिन्न रोगको सङ्क्रमण देखिनु र बजार मूल्यमा हुने उतारचढावका कारण किसानहरू आर्थिक दबाबमा पर्दै आएको बताइएको छ। पछिल्लो समय बर्डफ्लुका कारण केही किसानका कुखुरा मरेका थिए भने अण्डा उत्पादन गर्ने किसानले उचित मूल्य नपाउँदा थप नोक्सानी व्यहोर्नुपरेको अध्यक्ष पोखरेलले बताउनुभयो।






