काठमाडौँ, असोज २० —
यस वर्षको दसैँमा घर जाने यात्रुका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुला हुने भएको छ। यातायात व्यवस्था विभागमा आज नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौला, विभागका महानिर्देशक राजीव पोखरेललगायत पदाधिकारीको उपस्थितिमा बसेको बैठकले असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो।
बैठकपछि विभागका महानिर्देशक पोखरेलले दसैँका समयमा यात्रुको सहज, सुरक्षित र व्यवस्थित आवागमन सुनिश्चित गर्न असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गरिने जानकारी दिनुभयो।
उहाँका अनुसार दसैँमा राजधानीबाट विभिन्न जिल्लातर्फ जाने यात्रुको चाप बढ्ने भएकाले सवारीसाधन व्यवस्थापन, अग्रिम टिकट बुकिङ तथा यात्रु सेवासम्बन्धी आवश्यक तयारीलाई प्राथमिकता दिइएको छ।
यात्रुलाई सहज रूपमा गन्तव्यसम्म पुग्ने वातावरण बनाउन सम्बन्धित निकाय, यातायात व्यवसायी तथा सुरक्षा निकायसँग आवश्यक समन्वय भइरहेको विभागले जनाएको छ।
यात्रुको चापलाई ध्यानमा राख्दै दसैँको समयमा यातायात सेवा व्यवस्थित र सुरक्षित बनाउन आवश्यक व्यवस्था मिलाइने महानिर्देशक पोखरेलले बताउनुभयो।
यात्रुले टिकट पाउन समस्या भोग्न नपरोस् र सुरक्षित रूपमा गन्तव्यसम्म पुग्न सकून् भन्ने उद्देश्यले अग्रिम टिकट बुकिङ तथा यातायात व्यवस्थापनको तयारी अघि बढाइएको विभागले जनाएको छ।






