बारामा एमालेबाट वडा अध्यक्षका आकांक्षीहरु बिच झडप, आधा दर्जन बढि घाइते, केहीको अवस्था गम्भीर

  • एस.एस. पटेल, बारा ।

बाराको जीतपुर सिमरा उपमहानगरपालिका–२३ मा नेकपा एमालेका दुई पक्षबीच झडप भएको छ । वडाध्यक्ष असलम देवान र वडाध्यक्षका प्रत्यासी मुस्तकिम अन्सारी पक्षबीच झडप भएको प्रहरीले जनाएको छ ।

झडपमा जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ का वडा अध्यक्ष एवम् स्थानीय एमाले नेता अस्लम देवान घाईते सहित ८ जना घाइते भएका छन् भने घाईते मध्ये वडा अध्यक्ष देवानका दाइ नाजिर देवान गम्भीर घाइते भएको अस्पतालले जनाएको छ ।

यता वडा अध्यक्ष देवानले आफूलाई एमालेकै स्थानीय नेताहरूले ज्यान लिने उद्देश्यले आक्रमण गरेको आरोप लगाउनु भएको छ । हिजो मंगलबार बेलुकी ६ः४५ बजे तिर मोनालिसा कोइला डिपो अगाडि वडा अध्यक्ष देवान र उनका दुई दाजु-भाइमाथि आक्रमण भएको अस्लमका भतिजा अरबाग देवानले बताए । तीनै जनाको नारायणी बयोधा अस्पतालमा उपचार भैरहेको छ । मुटुका बिरामीसमेत रहेका वडाध्यक्ष देवानका दाजु नाजिरको अवस्था गम्भीर छ ।

देवानले आफूमाथि हमला गर्न एमाले नेता मुस्तकिम अन्सारी सहित चाँद महमद मिया मन्सुरी, राजामहमद मिया मन्सुरी, अनवारुल मिया मन्सुरी, ईलताफ मिया अन्सारी र सन्तुल्लाह मिया गरी ६ जना संलग्न रहेको आरोप लगाएका छन् ।

तेसैगरि यता भलुहि टोलमा कोईला डिपो अगाडि बाँसले घेरेर बन्द गरिएको बाटो खुलाउन गएका मुस्तकिम अंसारीसहितको टोलीलाई वडा अध्यक्ष असलम देवान लगायतको टोलीले गाली गलोज गर्दा विवाद शुरु भएको मुस्तकिम पछले बताएका छन् । सामान्य भनाभनपछि असलम देवान पक्षका व्यक्तिहरू मुस्तकिम अंसारी पक्षको समुहमाथि हातपात गर्दा असलम देवान पक्षको समूहले कुटपिट गरेको उनिहरूले बताएका छन् ।

कुटपिटबाट मुस्तकिम अंसारीसहित चाद महम्मद मंसुरी, मुमताज आलम, यासिन मिया, तमिजुदिन अंसारी, खुरशेद आलम लगायत घाइते भएका छन् । चांद महम्मद मंसुरी र ममताज आलमको आईसियुमा उपचार भइरहेको छ । यासिन मियाँको खुट्टा भाँचिएको र खुरशेद आलमको हात भाँचिएको छ भने अन्यको अवस्था सामान्य रहेको अस्पताल श्रोतले जनाएको छ ।

घटनामा संलग्न हरूकाे खाेजी कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।