- एस.एस. पटेल, बारा ।
मधेस प्रदेशको एक मात्र राष्ट्रिय निकुञ्ज पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या दोब्बरले वृद्धि भएको छ । शुक्रवार बाघ दिवसको अवसर पारी निकुञ्ज विभागले काठमाडौंमा जारी गरेको बाघ गणना २०२२ को प्रतिवेदन अनुसार पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या १८ बाट वृद्धि भएर ४१ पुगेको छ ।
सन् २०१८ मा भएको बाघगणनाको नतीजा अनुसार पर्सा राष्ट्रिय निकुञ्जमा जम्मा १८ वटा बाघ थिए । पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोज साहका अनुसार बासस्थानको व्यवस्थापन, उल्लेख आहारा प्रजाति, चोरी शिकारीमा नियन्त्रण, बाघ संरक्षणमा समुदायको सहकार्यलगायतले पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या बढेको छ ।
बाघ गणना २०२२ को प्रतिवेदन अनुसार देशभरिका निकुञ्जमा अहिले बाघको सङ्ख्या ३५५ पुगेको छ । जसमध्ये चितवन राष्ट्रिय निकुञ्जमा बाघको संख्या सबै भन्दा बढिरहेको छ ।
नेपालको पछिल्लो नतीजा अनुसार चितवनमा १२८, बर्दियामा १२५, पर्सामा ४१, शुक्लामा ३६ र बाँकेमा २५ वटा गरी ३५५ वटा पाटेबाघ छन् । सन् २०१८ को गणना अनुसार नेपालमा २३५ वटा बाघ थियो । सन् २०२२ मा १२० वटा बढेर ३५५ पुगेको छ ।




