- बारा । साउन २६ ।
मधेस प्रदेशको बारा जिल्लाको निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले कार्यालय सञ्चालनमा अवरोध गरेपछि पालिकाको कार्यालय दुई सातादेखि ठप्प बनेको छ । सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत सुमन कुमार कार्कीलाई मन्त्रालयले तत्कालका लागि थमौती गरेपछि आक्रोशित बनेका प्रमुख पुरीले दुई साताअघि अधिकृत कार्कीलाई कार्यालयमा प्रवेश निषेध गर्दै कार्यकक्षमै ताला लगाएपछि कार्यालय ठप्प भएको हो ।
कार्यालय ठप्प भएपछि यहाँका १३ वटै वडाको काम प्रभावित भएको छ । प्रमुख पुरीले अधिकृतको कार्यकक्षमा ताला लगाएको केहि दिनपछि वडा अध्यक्षहरुले जनताको काम रोक्नु हुँदैन भन्दै सुझाव सहित ज्ञापन पत्र बुझाए पनि मेयर पुरीले नमानेपछि १६ कार्यपालिका सदस्यले केही दिनअघि प्रमुख पुरीकै कार्यकक्षमा ताला लगाएका छन् ।
आफू अनुकुलको कर्मचारी मन्त्रालयले नपठाएको आक्रोशमा प्रमुख पुरीले थमौती भएका कार्कीलाई कुनै हालतमा काम गर्न नदिने भन्दै ताला ठोकेर सम्पर्कविहीन बनेका छन् । कार्यालयका कर्मचारी रोजी श्रेष्ठले प्रमुख प्रशासकीय अधिकृत सहित आफूहरुलाई नगरप्रमुखले काम गर्ने वातावरण बिथोलेपछि सेवाग्राही मारमा परेको बताउनुभयो ।



