जसपाबाट पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यको लागि मन्त्री यादवको एकल नाम सिफारिस

वीरगञ्ज,१९ भदौं ।

जनता समाजवादी पार्टी नेपाल (जसपा) ले पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवारको लागि वन तथा वातावरण मन्त्री प्रदीप यादवको एकल नाम सिफारिस गरेको छ । शनिबार वीरगञ्जमा बसेको जसपा क्षेत्र नम्बर १ को क्षेत्रीय समितिको बैठकले सर्व सहमतिबाट २०७९ को प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि वनमन्त्री यादवको एकल नाम प्रतिनिधि सभा सदस्य उम्मेदवारको लागी सिफारिस गरेको हो ।

यादव २०७४ सालको निर्वाचनमा तत्कालिन सङ्घीय समाजवादी फोरम नेपालबाट सोही क्षेत्रबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् । उनले नेपाली काङ्ग्रेसका अनिल रुङ्गटा र संविधानसभा सदस्य तथा नेकपा एमालेका विचारी यादवलाई ठूलो मतान्तरले पराजित गरेका थिए ।

बैठकले क्षेत्र नम्बर १ को ‘ख’ बाट मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको नाम सिफारिस गरेको छ । राउत पनि २०७४ को निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित प्रदेश सभा सदस्य हुन । त्यसैगरी बैठकले सो क्षेत्रबाट प्रतिनिधि सभाका लागी समानुपातिक तर्फ जमुना यादव, नसीम अख्तर र इमामूल अन्सारीको नाम सिफारिस गरेको छ ।