काठमाडौँ, कात्तिक १५-
नेकपा एमालेले आउँदो मङ्सिर ४ गते हुने चुनावका लागि घोषणापत्र सार्वजनिक गरेको छ । आज मंगलबार काठमाण्डौको याक एन्ड यती होटलमा अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट आउँदो चुनावका लागि पार्टीको घोषणापत्र सार्वजनिक गर्नुभएको हो ।
घोषणापत्रमा पार्टीले अघि सारेको ’समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय संकल्पलाई निरन्तरता दिइएको छ । झन्डै २० हजार शब्द रहेको घोषणापत्रमा देशको समृद्धिका लागि राष्ट्रिय अर्थतन्त्रको निर्माणमा जोड दिइएको छ । घोषणापत्रमा सूर्य चिह्नमा किन मतदान गर्ने भन्ने कुरालाई प्रष्ट्याउने प्रयास गरिएको छ । घोषणापत्र सार्वजनिक भएसँगै अहिले ’ओलीसँग लाइभ डिबेट’ पनि गरिएको छ ।
यसअघि सत्तारूढ गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) ले संविधानको रक्षालाई मूल नारा बनाएर चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।
एमालेले घोषणापत्रमा ६ महिनाभित्र नागरिकतासम्बन्धी समस्या हल गर्ने र सबै नेपालीलाई नागरिकता दिने बताएको हो ।
प्रतिबद्धतापत्रमा एक वर्षभित्र राष्ट्रिय परिचय पत्र उपलब्ध गराइने उल्लेख छ । एमालेले चार संकल्प प्रस्तुत गरेको छ । सुशासन,विकास, समृद्धि र समानता एमालेका संकल्प हुन् ।
प्रतिबद्धतापत्रमा कृषि उत्पादनमा व्यापक वृद्धि गरिने उल्लेख छ । समृद्धिको यात्रामा बाधक बनेका नीतिहरुमा सुधार गरिने विषय घोषणापत्रमा समेटिएको छ । घोषणापत्रमा नागरिक प्रशासनलाई व्यवसायिक, सक्षम र जनताप्रति उत्तरदायी बनाइने उल्लेख छ । फोहोरको वैज्ञानिक व्यवस्थापन गर्ने घोषणापत्रमा उल्लेख छ । Photo Source: Nepalpress



