भारत, कात्तिक १४-
भारतको गुजरातमा पुल चुँडिंदा १३७ जनाको मृत्यु भएको छ भने १०० जना घाइते भएका छन् । भारतीय मिडियामा उल्लेख भए अनुसार आइतबार साँझ मोरबी भन्ने स्थानमा पर्ने मच्छु नदीमाथि बनेको पुल चुडिएको हो ।
समाचार अनुसार अझै ५० जना सम्पर्क विहिन छन् । सुरक्षाकर्मीहरुले खोज तथा उद्धारको काम जारी राखेका छन् । भारतीय वायु सेनाका जवानहरुलाई पनि घटनास्थलमा परिचालन गरिएको छ ।
वर्षौं पुरानो मोरबी पुलको हालैमात्रै मर्मत गरिएको थियो । उक्त पुलमा चढ्नका लागि भारु १७ रुपैयाँ शुल्क लिइन्थ्यो । आइतबार साँझ उक्त पुलमा क्षमताभन्दा बढी मानिसहरु रहेकाले पुल चुडिएको अनुमान छ । त्यस्तै केही वर्षयता बन्द रहेको उक्त पुल मर्मत गरेर दीपावलीको अवसर पारेर सर्वसाधारणका लागि खुला गरिएको थियो । उक्त पुल गुजरातको मोरबीलाई खास पहिचान दिलाउने उद्देश्यले आधुनिक युरोपियन प्रविधि प्रयोग गरेर बनाइएको थियो ।



