बारा, मंसिर २९ गते ।
बारा जिल्लाको विश्रामपुर गाउँपालिका वडा नम्बर ५ इटियाहीमा परालले छोपेको अवस्थामा एक युवकको शव फेला परेको छ । सोही जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका–१० निवासी २२ वर्षीय सुरज साह कानुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीको अनुसार तारले खुट्टामा बाँधेको र टिसर्टले मुख छोपेको अवस्थामा कानुको शव फेला परेको हो । थुपारीएको परालबाट मृतकको खुट्टा बाहिर देखिएपछि बुधबार दिउँसो स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
हत्याको घटनामा दुई जनाको संलग्नता हुन सक्ने आशंका प्रहरीले गरेको छ । उनीहरु मोबाइल स्वीच अफ गरी फरार छन् । शंकास्पद व्यक्तिलाई पक्राउ गर्न खोजी कार्य तिव्र पारिएको बारा प्रहरीकाले बताएको छ।



